पहिले तरकारी किन्ने ‘बिजौरा गाँउ’ अहिले बर्सेनि लाखौँको तरकारी बेच्छ

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ अन्तर्गत पर्ने विजौरा गाउँ तरकारी खेतीका लागि आत्मनिर्भर बन्दै गइरहेको छ । कुनै बेला यो गाउँमा महिलाहरुलाई भान्सामा तरकारीको अभाव हुँदा विभिन्न स्थानीय बजारमा धाउनुपर्ने बाध्यता थियो ।

अहिले तरकारीमा मात्रै आत्मनिर्भर होइन महिलाहरूको दैनिकी समेत बदलिएको छ । यहाँका अधिकांश पुरुषहरू रोजगारीका लागि भारत जान्थे । तर अहिले धेरै जसो पुरुषहरू पनि तरकारी खेतीतर्फ उन्मुख बनेका छन् ।

प्रदेश कृषि विकास निर्देशनालयले ‘एक स्थानीय तह एक वाली कार्यक्रम’ सञ्चालनमा ल्याएसँगै त्यहाँका स्थानीयको दैनिकीमा परिवर्तन आएको हो । स्थानीय चम्फा बिसी अचेल प्रायः तरकारी खेतीमै व्यस्तै हुन्छिन् । उनले एक सिजनमा ३०–४० हजारको तरकारी बेच्ने गरेको बताइन् ।

उनी मात्र होइनन् यहाँकै जउमती बुढा क्षेत्री पनि खेती कृषिमै आत्मनिर्भर छन् । कुनै समय किनेर तरकारी खाने यहाँका नागरिकहरू अहिले लाखौँको तरकारी बाहिर निर्यात गर्छन् ।

धेरै मेहनत गरेर पनि आफ्नै उत्पादनबाट १२ महिनै जीविकोपार्जन गर्न नपुग्ने बिजौरा गाउँका किसान अहिले आफूलाई पुगेर वीरेन्द्रनगर बजार र कैलाली निर्यात गरेर बचत गर्न पाउँदा खुसी देखिन्छन् । बिजौरा गाउँमा ३३ जना किसानहरू छन् पहिले यहाँका किसानहरूले परम्परागत खेती बालीहरू गर्दै आएका थिए जब कृषि विकास निर्देशनालय र स्थानीय सरकारले अनुदानमा खेतीका लागि प्लास्टिक घर, बिउबिजन, औषधी लगायत प्राविधिक सहयोग गरेपछि यहाँका किसान कृषिबाट आत्मनिर्भर बन्दै गएका छन् ।

अहिले यहाँका किसानहरूले एक बालीमा ३८ हजार देखि ६३ हजारसम्म आम्दानी गर्दै आएका छन् ।जयलाल रोकायले टमाटर, बोडी र अदुवा खेती गर्दै आएका छन् उनी एक मेहनती किसान हुन् उनको घरमा अहिले ७ जनाको परिवार छ । कृषि बाहेक उनीहरूको अर्को व्यवसाय छैन यसैबाट उनीहरूको घरखर्च चल्दै आएको छ ।

पहिले १ बिघा क्षेत्रफलमा कृषि गर्दा पनि घरपरिवारलाई पुर्‍याउन धौ धौ हुन्थ्यो तर अहिले १ रोपनीमा कृषि गर्दा आफूलाई पुगेर बेच्ने गरेको उनी बताउँछन् । आफ्नै बारीमा उत्पादन भएको ताजा तरकारी खान पाउँदा मनै आनन्दित हुन्छ, घरमा पुगेर बचेको तरकारी डोकोमा बोकेर बजारसम्म नि आफैँ पुर्याउछु  ।’

पहिले यहाँका किसानहरू तरकारीमा रोग लाग्दा के गर्ने भन्नेबारे अनजान थिए जसले गर्दा रोगले बाली नै सखाप पार्दथ्यो तर अहिले भने कुनै रोग लाग्दा प्राविधिक सल्लाह लिन्छन् बिजौरामा तरकारी पकेट सञ्चालक समितिका सञ्चालक रमेश घिमिरे बताउँछन् । औषधी प्रयोग लगायतका विषयमा पनि सबै सल्लाह गर्छन् जसले गर्दा यहाँ व्यवसायसँगै मित्रता र सहयोगी भावना पनि विकास भएको उनी सुनाउँछन् ।

यहाँका प्रमुख समस्याहरू गाउँमै संकलन केन्द्र नहुँदा बोकेर टाढा लैजान समस्या हुने र बजार व्यवस्थापन नहुँदा बजारीकरणमा समस्या रहेको छ । कृषिबाट राम्रो आम्दानी हुन थालेपछि यसमा युवाहरूको आकर्षण पनि बढ्दै गएको छ । विद्यालय घर फर्किएपछि विद्यार्थीहरू पनि अभिभावक सँगै तरकारी बालीमा जान थालेका छन् । छोराछोरीको यस्तो क्रियाकलापबाट छुट्टै खुसी मिल्ने बिजौराका स्थानीयहरू बताउँछन् ।

आर्थिक वर्ष २०७८–७९ मा कृषि विकास निर्देशनालय सुर्खेतबाट तरकारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत तरकारी ब्लक विकास कार्यक्रम, एक स्थानीय तह एक पकेट बाली सञ्चालन कार्यक्रम र अन्य मागमा आधारित कार्यक्रमहरू भएका थिए । करिब १ सय भन्दा बढी सिचाई आयोजनाहरू सञ्चालन भएका थिए ।

यसरी कृषि विकास निर्देशनालयको सहयोगमा अहिले १ हजार हेक्कड क्षेत्रफलमा तरकारी खेती भइरहेको कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायाले बताए । यस्तै उनका अनुसार, सुर्खेतमा तरकारी खेतीबाट करिब २०–२५ करोड वार्षिक आम्दानी सुर्खेत आउँछ । यस्तै यहाँको तरकारी सुर्खेत सँगै दैलेख र कर्णालीका अन्य जिल्लाहरू जाने गर्दछ ।

निर्देशक रोकायका अनुसार सुर्खेतमा करिब ६० प्रतिशत कृषियोग्य जमिन बाँझै छ । अहिले यहाँको उत्पादन बढाउन सिँचाइको विस्तार गर्ने, प्राङ्गारिक खेती तर्फ विशेष पहल गर्ने, कृषकको क्षमता अभिवृद्धि गरेर आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए । बिजौराका किसानहरू उत्पादन वृद्धि भएर माग बढेको खण्डमा संकलन केन्द्र मिनी संकलन केन्द्र निर्माण गर्ने र किसानहरू जस्तो सुकै कृषि योजना लिएर निर्देशनालय आएमा उनीहरूका माग सम्बोधन गर्न सधैँ लागि पर्ने बताएका छन् ।

गाउँलाई कृषिमा आत्मनिर्भर बनाउने पूर्व र वर्तमान वडाध्यक्षको संकल्प

बिजौरा गाउँले तरकारी खती सुरु गरेको २–३ वर्षमै पहिचान फेरेको छ । पहिले तरकारी किन्ने गाउँ अहिले तरकारी बेच्ने भएको चौकुने गाउँपालिका–४ का पूर्व वडाध्यक्ष नवराज जैसी बताउँछन् । आफ्नो कार्यकालमा गरेको यो महत्त्वपूर्ण कामलाई सम्झँदै सरकारले पनि कृषकलाई प्रोत्साहन गर्न नसकेकोमा गुनासो पाखे ।

हालका वडाध्यक्ष टोप लबहादुर बुढा क्षेत्रीले वडाले कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताए । किसानलाई भौतिक पूर्वाधारको व्यवस्था गरेर किसानलाई जागरूक बनाउने र वास्तविक किसानलाई अनुदान दिने र यहाँको तरकारी संकलन केन्द्रसम्म पुर्‍याउने र पालिकाले नै किन्ने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *