माओवादी केन्द्र साेलुखुम्बुले गर्याे उम्मेदवार सिफारिस, काे-काे परे ?

साेलुखुम्बु । नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । भदाै २७ गते बसेकाे जिल्ला समितिकाे बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ हेमकुमार राई ‘सुरवीर’, शिवबहादुर बस्नेत र असिम राईकाे नाम सिफारिस गरेको हाे । सिफारिस भएकामध्ये हेमकुमार र शिवबहादुर केन्द्रीय सदस्य हुन् भने असिम जिल्ला संयाेजक एवम् थुलुङ दुधकाेशी गाउँपालिका अध्यक्ष हुन् ।
२०७४ सालकाे निर्वाचनमा पनि साेलुखुम्बुबाट माओवादी केन्द्रले नै जितेका हाे । अहिले यहाँबाट हेमकुमारले प्रतिनिधित्व गर्छन् । यसपटक पनि साेलुखुम्बु माओवादी केन्द्रले लिने नेताहरूले बताएका छन् । २०७४ सालमा पनि माओवादी केन्द्रले नै जितेकाले यसपटक पनि यहाँबाट माओवादी केन्द्रले नै पाउनुपर्ने अडान नेताहरूकाे छ । सांसद एवम् सिफारिस भएका नेता हेमकुमार भन्छन्, ‘यहाँबाट स्वाभाविकरूपमा माओवादी केन्द्रले नै पाउनुपर्ने हाे ।’
समितिले प्रतिनिधि सभा समानुपातिकतर्फ दिलबहादुर नेपाली र पासाङ शेर्पाको नाम सिफारिस गरेकाे छ । यस्तै प्रदेश सभा (क) प्रत्यक्षतर्फ गोम्बु शेर्पा ‘कर्ज्याङ’, हिमाल गिरी, जुद्दबहादुर कार्की, रामकुमार राई र रामेश्वर कार्कीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ ठमनाथ पराजुली, ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा र दावातेन्जी शेर्पाको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेश सभा (क) र (ख) बाट समानुपातिकतर्फ क्रमश: दिव्या खालिङ राई, शारदा माया तामाङ, दीपक श्रेष्ठ, रग्बा शेर्पा, अमृता कुलुङ, प्रल्हाद राई, बलबहादुर राई, धनकुमार विश्वकर्मा, केशरबहादुर राई, टेकबहादुर बस्नेत र अनिशा राईलाई समानुपातिकतर्फ प्रदेश उम्मेदवारको रूपमा सिफारिस गरिएको छ ।








