निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा विभिन्न टीकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पारे । नेपालको निर्वाचन प्रणाली महँगो भयो भन्नेहरू नै खर्चको सीमामा असन्तुष्ट देखिएको उनले बताए ।
थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरूको खर्च पनि सबै दलले नै व्यहोर्ने व्यवस्था भए झन् उचित हुने जिकिर गरे । निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उनले बताए ।
त्यस्तै उनले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहँदा वा नरहँदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राखे । उनले मन्त्री मात्रै नभई कोही सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रस्ट रहेको बताए ।
निर्वाचन आचारसंहिता उलङ्घन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारबाही गर्ने उनले बताए ।
त्यस्तै उनले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरी निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिए ।
बैठकमा समिति सदस्यहरूले निर्वाचन खर्च, प्रचारप्रसार लगायतका विषयमा आयोगले गरेको व्यवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।








