सिट बाँडफाँट : ८३ सिटमा मान्छ कांग्रेस ?

काठमाडाैँ । सत्तारुढ पाँचदलीय गठबन्धनमा सिट बाँडफाँटकाे विषय पेचिलाे बनिरहेकाे छ । साउन २० गते बनेकाे ११ सदस्यीय कार्यदलले अपुराे प्रतिवेदन शीर्षस्त नेताहरूलाई बुझाइसकेकाे छ । माथि (ठूला नेता) बाटै अङ्कुश लगाइँदा काम गर्न नसकिएकाे कतिपय कार्यदलका सदस्यले बताए । मकालुखबरसँग कार्यदलका एक सदस्यले भनेका छन्, ‘ठूला नेताहरू नमिलकन केही मिल्दैन । कार्यदलले आफ्नाे मुख्य कामै गर्न सकेन ।’

त्यसाे त शीर्षस्थ नेताहरू निर्वाचनपछि बन्ने सरकारमा प्रमुख पद क-कसले लिने भन्नेबारे अहिल्यै टुङ्ग्याएर अगाडि बढ्न चाहन्छन् । गठबन्धनकाे प्रमुख घटक माओवादी केन्द्रका एक नेताले मकालुखबरसँग भने, ‘सिट बाँडफाँट मात्रै हाेइन, निर्वाचनपछि गठन हुने सरकारमा कुन दलले कुन राष्ट्रिय पद पाउने भन्नेमा कुरा अड्केकाे छ । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख यी सबै सबै अहिल्यै टुङ्ग्याएर अगाडि जाने नेताहरूकाे मनसाय छ । यसले अड्काइरहेकाे छ ।’ ती पदहरू पाउने पनि सिट संख्यामै भर पर्ने हुँदा नेताहरूले आ-आफ्नाे पूर्वअडान नछाडेकाे ती नेताकाे बुझाइ छ ।

उसाे त प्रतिनिधि सभाकाे १६५ सिट बाँडफाँटमै पनि दलहरूले आ-आफ्नाे अडान छाडेका छैनन् । यसैकारण पनि थप सकस झेलिरहेकाे छ । उता मझैला साझेदार दलहरू एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धन छाड्ने चेतावनी दिइरहेका छन् । उनीहरूकाे चित्त बुझाएर प्रधानमन्त्री पद लिनेगरी मिलाउनुपर्ने चुनाैती कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छ । यसैकारण अहिले उनीहरूले तातिएका छन् । तर, सहमति भने भेटेका छैनन् । दाेस्राे तहका नेताहरूले बाँडफाँटमा ढिलाइ भइरहेकाे बताउँदै नेतृत्वमाथि दबाब बढाएका छन् ।

आज बाँडफाँट टुङ्ग्याउनेगरी बैठक बसिरहेकाे छ । तर, सहमति अझैसम्म पनि नभेटिएकाे बताउँछन् बैठकमा सरिक एक नेता, भन्छन्— ‘सहमति खाेज्ने नै भनेर बसिएकाे हाे । सबै दलहरूले आ-आफ्नाे अडान दाेहाेर्‍याउँदा सकस भयाे । कुनै पनि दलले कम्प्रमाइज गर्न मानेका छैनन् ।’

त्यसाे त १०० सिट माग्दै आएकाे कांग्रेस भने आफ्नाे दाबीबाट केहीरूपमा खुकुलिएकाे छ । स्राेतकाअनुसार उसले ८४ सिट पाए मान्नेछ । स्राेतले भन्याे, ‘८३/८४ सिट भए पुग्छ भनेरै त साथीहरूले भन्नुभएकाे छैन । तर, उहाँहरूले १०० काे आफ्नाे दाबीमा भने त्यत्ति दह्राे देखिनुभएकाे छैन । त्यसकाे मतलब उहाँहरू केही झर्नुहुन्छ हाेला ।’

जसै— ८४ सिट पाए त्यसबाट ७५ सम्म जित्ने हिसाब सुनाउँछन् कांग्रेसका एक नेता, भन्छन्—’प्रत्यक्षबाट ७५ जितियाे भने समानुपातिकबाट ४० वरपर आउँछ । यस्तो हुँदा ११५ सिट कांग्रेसको हुन्छ । फेरि सरकार बनाउन कुनै साना दल लिँदा पुग्छ । पाँचै दल चाहिँदैन । याे सजिलाे हुन्छ । मिलेर जानुपर्ने अवस्था छ । गठबन्धन नटुटाऔँ भन्ने पनि हाम्राे हाे । त्यसैले कुराकानी भइरहेकाे हाे ।’

कांग्रेसकै संस्थापनइतर पक्षले १०० भन्दा तल नझर्ने अडान छाडेकाे छैन । इतरकाे नेतृत्व गरिरहेका डा. शेखर काेइरालाले पाँच दलबिच गठबन्धन हुँदा पनि बहुमत संख्या कांग्रेसले नै राख्नुपर्ने दाेहाेर्‍याउँदै आएका छन् । उनले कांग्रेसभित्र पनि ६०/४० काे अुनपातमा सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । कांग्रेसमा त्याे संस्कार पहिल्यैदेखि नै भएकाे भन्दै उनले अहिलेका नेतृत्व देउवालाई त्यही कुरा सम्झाउन चाहेका छन् । कांग्रेसले १०० सिट पाए ४० सिट संस्थापनइतरले पाउने उनकाे दाउ छ । तर, अहिलेकाे अवस्था त्यस्ताे भने देखिएकाे छैन । देउवाले पेलेरै अगाडि जाने हाे कि भन्ने डर भने संस्थापनइतरसँग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =