ताताेपानी नाका खाेल्न चीनसँग निरन्तर छलफलमा परराष्ट्रमन्त्री, कहिले खुल्ला ?

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रूपमा खुल्ला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताएका छन् ।
आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाई सहज रूपमा सञ्चालनका लागि आफूले पटकपटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएका हुन् ।
उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे । तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए ।
उनले आपूर्ति सहज गर्नका लागि आफू प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे ।
त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारीहरूले करोडौँ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरू मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
सो क्रममा व्यवसायीहरूले विनाशकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लागि राज्यले गम्भीर भएर चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिवार केही कन्टेनरहरू सो नाका हुँदै नेपाल भित्रिएका थिए ।








