निर्वाचन अंकगणित : कर्णालीमा कसकाे अवस्था कस्ताे ?

सुर्खेत । कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ २४ गरी ३६ निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा प्रतिनिधि सभातर्फ २/२ र प्रदेशतर्फ ४/४ वटा निर्वाचन क्षेत्र छन् । बाँकी जिल्लामा १ प्रतिनिधि र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस गरेको छ । केन्द्रको निर्णय नकुरेर भागबन्डाको टुङ्गो नलाग्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । हालसम्म कर्णालीमा गठबन्धनबिच भागबन्डाबारे छलफल नै भएको छैन । सत्ता गठबन्धनले सिट बाँडफाँटको टुङ्गो लगाउन सकेको छैन ।

गठबन्धनका पाँच दलले प्रदेश र प्रतिनिधि सभामा कसले कति सिट पाउने भन्ने टुङ्गाे नलाग्दै कर्णाली प्रदेशबाट धमाधम उम्मेदवार सिफारिस गर्न थालेका हुन् । कर्णालीका १० मध्ये सुर्खेतमा कांग्रेस र माओवादीबिच गठबन्धन हुने भएको छ । अन्य ९ जिल्लामा मुख्य तीन दलबीच सिट बाँडफाँटमा किचलो देखिएको छ । कांग्रेसले कर्णालीमा भागबन्डा गर्दा यही स्थानीय तह निर्वाचनको मतलाई आधार बनाउनुपर्ने बताउँदै आएको छ । माओवादी २०७४ को निर्वाचनको अडानमा छ । २०७४ को निर्वाचनमा माओवादीले प्रतिनिधि सभाका १२ मध्ये ५ र प्रदेश सभाका २४ मध्ये १० सिट जितेको थियो । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ शून्य कांग्रेसले प्रदेश सभामा एक मात्रै सिट जितेको थियो ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहमा प्राप्त मतका आधारमा प्रतिनिधि सभाका १२ मध्ये ७ र प्रदेश सभाका २४ मध्ये १२ सिट आफूहरूले पाउनुपर्ने आधारसहित पार्टी केन्द्रलाई प्रतिवेदन पठाएको कांग्रेसको स्थानीय नेतृत्वले जनाएको छ । २०७४ मा एमाले र माओवादीले प्रतिनिधि सभाका १२ मध्ये आधा-आधा सिट लगाएका थिए । प्रदेश सभाका २४ मध्ये एमालेले १३ र माओवादी केन्द्रले ११ सिट बाँडेका थिए ।

एमालेलाई चुनौती

कर्णालीका सबै जिल्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबिच भागबन्डा मिलेर चुनावमा गए एमालेलाई विरासत जोगाउन कठिन हुनेछ । एमालेले सुर्खेत, दैलेख र सल्यानको प्रतिनिधि सभातर्फ गठबन्धन हुँदा पनि जित्न सक्ने आँकलन गरेको छ । अन्य केही जिल्लामा गठबन्धन नभए एमालेको जित निश्चित भएको तर्क एमाले नेताहरू गर्छन् ।

तर, कर्णालीका सबै जिल्लामा गठबन्धन भए एमालेलाई १२ सिटमा आफ्नो विरासत जोगाउनै मुस्किल छ । तर एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रदेश सभाका २४ मा १४ र प्रतिनिधिसभाको १२ सिटमा ६ सिट जित्ने दाबी गरेका छन् ।

संघमा कुन दलबाट को-को सिफारिस ?

हुम्ला

एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको हुम्ला कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि शाही एकल सिफारिस भइसकेका छन् । यस्तै, एमालेबाट दल रावल एकल सिफारिस भएका छन् । एमाले केन्द्रीय सदस्य र हुम्ला इन्चार्ज रावल कर्णाली प्रदेशको समाजिक विकास मन्त्री भइसकेका छन् ।

माओवादीबाट प्रतिनिधि सभाका लागि तीनजनाको नाम सिफारिस भएको छ। जसमा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री छिरिङ्ग डम्डुल लामा (कार्चेन), अकिल बुढा र प्रेमबहादुर शाही छन् । हुम्लामा एकीकृत समाजवादी कमजोर छ । यदि माओवादी र कांग्रेसबिच गठबन्धन भए मुख्यमन्त्री शाहीले टिकट पाएर जित्ने सम्भावना बलियो छ ।

२०७४ को निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४९१ मतसहित निर्वाचित भएका थिए । उनले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका थिए । शाहीले ८ हजार ४४४ र माओवादीका छिमी दोर्ची लामाले २ हजार ८५६ मत पाए । प्रतिनिधि सभामा स्वतन्त्रबाट जित्ने कर्णालीमा लामा मात्रै थिए । उनले कलम चिह्नबाट चुनाव लडेका थिए । माओवादीले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए । लामा हाल एमालेमा छन् । उनी यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने मुडमा छन् ।

मुगु

मुगुमा एमालेबाट प्रतिनिधि सभाका लागि पूर्वमन्त्री मोहन बानियाँलाई सर्वसम्मत सिफारिस गरिएको छ । कांग्रेसले सभापति ऐनबहादुर शाहीलाई प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । मुगुमा हालसम्म माओवादी र एकीकृत समाजवादीले उम्मेदवार सिफारिस गरेका छैनन् ।

यहाँ २०७४ मा प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट एमालेका गोपालबहादुर बमले १३ हजार ३४ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८६१ मत पाएर पराजित भए ।

यदि मुगुमा पनि गठबन्धन भए एमालेको पक्षमा मत कम खस्ने देखिन्छ । गठबन्धन नभए एमाले नै बलियो देखिन्छ ।

डोल्पा
कांग्रेस जिल्ला कार्यसमिति डोल्पाले प्रतिनिधि  सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य कर्ण बुढालाई एकल उम्मेदवार सिफारिस गरेको छ । एमालेबाट कर्णाली प्रदेशसभा सदस्यसमेत रहेकी बदमीकुमारी बोहोराको नाम एकल सिफारिस भएको छ ।

माओवादीले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष मालबहादुर रोकाय, दिलबहादुर विष्ट र वीरेन्द्रकुमार डाँगीलाई सिफारिस गरेको छ । एकीकृत समाजवादीले पूर्वपर्यटन राज्यमन्त्री तथा सांसद धनबहादुर बुढाको नाम एकल सिफारिस गरेको छ । २०७४ मा प्रतिनिधि सभातर्फ एमालेका धनबहादुर बुढा ११ हजार ७६१ मतसहित विजयी भएका थिए ।

कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । धनबहादुर अहिले एमाले छाडेर समाजवादीमा छन्  । यदि डोल्पामा गठबन्धन भए एमालेलाई चुनाव जित्न चुनौतीपूर्ण छ । अहिले एमालेका प्रभावशाली नेताहरू समाजवादीमा छन् ।

जाजरकोट
जाजरकोटमा पनि उम्मेदवार सिफारिस प्रक्रिया जारी छ । एमाले जाजरकोटबाट प्रतिनिधि सभाका लागि युवा नेता निरज आचार्यको नाम सिफारिस भएको छ ।

कांग्रेसबाट राजीवविक्रम शाह र रामजंग शाहको नाम सिफारिस भएको छ । माओवादीबाट शक्ति बस्नेतको नाम चर्चामा छ । माओवादी नेता बस्नेतको गृह जिल्ला जाजरकोट नै हो । बस्नेत २०७४ को निर्वाचनमा ३२ हजार २८१ मतसहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए  । उनका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याए ।

यसपटक जाजरकोटमा गठबन्धन भए शक्ति बस्नेत नै प्रत्यक्षतर्फ र कांग्रेसका समानुपातिकमा जाने सोचमा रहेको नेताहरू बताउँछन् । जाजरकोटमा एक्ला-एक्लै चुनाव लड्दा पनि एमाले कमजोर छ ।

रुकुम पश्चिम
रुकुममा कांग्रेस जिल्ला कार्यसमितिले प्रतिनिधिसभा प्रत्यक्षतर्फ गोपालजीजङ्ग शाह, प्रेमप्रकाश ओली र यामबहादुर केसीको नाम सिफारिस गरेको छ । रुकुम पश्चिम माओवादीको आधार इलाका पनि हो । उसले यहाँ अरु दलले हल्लाउन नसक्ने बताउँदै आएको छ ।

माओवादी रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि जनार्दन शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । २०७४ को निर्वाचनमा माओवादी उपमहासचिव एवम् वर्तमान अर्थमन्त्री शर्मा ३४ हजार ४०२ मत ल्याएर विजयी भएका थिए । उनीसँग पराजित कांग्रेसका शाहले १५ हजार ६५९ मत पाए ।

सल्यान
सल्यानमा प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीबाट प्रकाश ज्वालाको नाम सर्वसम्मत भएको छ । कांग्रेसको आन्तरिक विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन । माओवादीले पनि सिफारिस गरेको छैन ।

एमालेबाट पोलिटब्यूराे सदस्य एवम् कर्णाली प्रदेश सह-इन्चार्ज गुलाबजंग शाहको नाम प्रदेश र प्रतिनिधि सभा दुवैतिर सिफारिस गरेको छ ।

यहाँ २०७४ मा प्रतिनिधि सभातर्फ माओवादीका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मतसहित निर्वाचित भएका थिए । त्यसबेला कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत ल्याएका थिए ।

कालिकोट
एमालेले प्रतिनिधि सभातर्फ नगिन्द्र शाही ‘नेश्नल’ लाई सर्वसम्मत सिफारिस गरेको छ । उनी एमाले केन्द्रीय कमिटी सदस्य एवम् कालिकोट इन्चार्जसमेत हुन् ।

माओवादी केन्द्रले कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित चारजनाको नाम सिफारिस गरेको छ । कांग्रेसले पनि सम्भावित उम्मेदवारहरूको सूची केन्द्रमा पठाएको छ । यहाँ माओवादी बलियो छ । २०७४ मा प्रतिनिधि सभातर्फ माओवादीका दुर्गबहादुर रावतले २१ हजार ११२ मत ल्याएर निर्वाचित भए । त्यसबेला कांग्रेसका भूपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत पाए ।

यसपटकको निर्वाचनमा कर्णालीका मुख्यमन्त्री समेत बनिसकेको माओवादीका महेन्द्रबहादुर शाही पुनः मुख्यमन्त्री बन्ने तयारीका साथ प्रदेशमै आउने देखिन्छ ।

जुम्ला
यहाँ माओवादीले प्रतिनिधि सभा प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ कर्णालीका पूर्वआन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी, डाक्टर कलबहादुर रोकाया, गोमा गौतम र मनऋषि धितालको नाम सिफारिस गरेको छ ।

यस्तै, एमाले केन्द्रीय सदस्य रतननाथ योगीको नाम जुम्लाबाट प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ । तिला गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका योगीलाई पार्टीले एकल उम्मेदवार सिफारिस गरेको हो ।

यहाँबाट अघिल्लो निर्वाचनमा प्रतिनिधि सभातर्फ माओवादीका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मतसहित निर्वाचित भएका थिए। उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई हराएका थिए । शाहीले १४ हजार १४९ मत ल्याएका थिए ।

दैलेख
दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि उम्मेदवारी सिफारिस अन्तिम चरणमा पुर्‍याएका छन् । एमालेको आधार इलाका दैलेखका २०७४ को निर्वाचनमा प्रदेश र प्रतिनिधि सभामा सबै उसैले जितेको थियो । एमाले जिल्ला कमिटीको पाँचौँ बैठकले प्रतिनिधिसभा सदस्यका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी सिफारिस गरेको छ ।

दैलेखमा प्रत्यक्षतर्फ १ बाट ३ र २ बाट ५ जनालाई सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट रवीन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

क्षेत्र नं. २ बाट विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विनोदकुमार शाह र राजबहादुर शाही उम्मेदवारमा सिफारिस भएका छन् । यस्तै, माओवादी दैलेखले निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचनका लागि कर्णबहादुर बस्नेत, ललिता रेग्मी वीरबहादुर शाहीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. २ बाट कृष्णबहादुर गुरुङ, ढकेन्द्र शाही र उमेशकुमार रावतको नाम सिफारिस भएको छ । यस्तै, कांग्रेसले क्षेत्र नं. १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ मणिराम रेग्मी, गणेश उपाध्याय, रवीन्द्रराज श्रेष्ठ, खगेन्द्र सुनार र मीना थापाको नाम सिफारिस गरेको छ । २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ शिवराज जोशी, रंगबहादुर शाही, दिक्पालकुमार शाही, योगेन्द्र पन्त र मधुविक्रम खनालको नाम सिफारिस भएको छ ।

एकीकृत समाजवादीले दैलेखले पनि प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट अम्मरबहादुर थापा र २ बाट केशरसिंह माझीको नाम सर्वसम्मत सिफारिस गरेको छ । थापा समाजवादीका कर्णाली अध्यक्षसमेत हुन् । २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा दुवै एमालेले हात पारेको थियो । १ मा रवीन्द्रराज शर्माले २३ हजार ७७३ मत प्राप्त गरेर विजयी भए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए । ०७४ मा कांग्रेसले राप्रपालाई साथ दिएको थियो । कांग्रेसको जनाधार राम्रै हुँदा पनि राप्रपालाई अघि सारेर ठूलो कमजोरी गरेको भन्दै कार्यकर्ता असन्तुष्ट भएका थिए । क्षेत्र नं. २ मा गठबन्धनका तर्फबाट एमालेका राजबहादुर बुढाले २३ हजार ३२३ मतसहित प्रतिनिधि सभामा निर्वाचित हुँदा कांग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरे ।

सुर्खेत
सुर्खेतमा कंग्रेस र माओवादीबिच चुनावी तालमेल हुने भएको छ । निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पार्टी उपसभापति पूर्णबहादुर खड्काको नाम सर्वसम्मत सिफारिस भएको छ । निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पाँचजनाको नाम सिफारिस भएको छ । जसमा हृदयराम थानी, श्याम भारती, टिएन योगी, निरञ्जन केसी र कमलबहादुर खत्री छन् ।

तर, दुई दलको सहमतिअनुसार प्रतिनिधि सभाका दुई सिट र प्रदेश सभाका चार सिटमा दुई सिट तथा माओवादीलाई दुई सिट दिएको स्रोतले जनाएको छ । यहाँ समाजवादीलाई गठबन्धनबाट आउट गरिएको छ । स्थानीय तहको निर्वाचनमा पनि माओवादी र कांग्रेसबिच तालमेल हुँदा समाजवादी एक्लै परेको थियो ।

एमालेले क्षेत्र नं. १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ ध्रुवकुमार शाही, चन्द्रलाल पौडेल र शान्तिकुमारी छन्तेलको नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ बाट अृमतबहादुर विसी, कुलमणि देवकोटा र तुल्सी कँडलेको नाम सिफारिस भएको छ ।

यस्तै, माओवादीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’ को नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि माओवादीले टुङ्गो लगाउन सकेको छैन ।

कर्णालीको राजधानी सुर्खेतका दुवै क्षेत्रबाट प्रतिनिधि सभामा यसअघि एमालेले जितेको थियो । क्षेत्र नं. १ मा एमालेका ध्रुवकुमार शाही ३६ हजार ७५९ मतसहित विजयी हुँदा कांग्रेसका पूर्णबहादुर खड्काले ३३ हजार ३७७ मत ल्याएका थिए । क्षेत्र नं.२ मा प्रतिनिधि सभातर्फ एमालेका नवराज रावत ३७ हजार ४४७ मत ल्याएर निर्वाचित भए । उनले कांग्रेसका हृदयराम थानीलाई पराजित गरेका थिए । थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *