थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो

काठमाडौँ । दार्चुलामा बाढीपहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ । शुक्रवार रातिको पानीले महाकाली नदी थुनिएर ताल बनेको थियो ।

हिजो बेलुकादेखि पानी आफैँ बग्न थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए । त्यहाँ दुहुँ र महाकाली नगरपालिका जोड्ने पक्की पुल बाढीले बगाएको छ । महाकालीका ४० भन्दा धेरै घर जोखिममा परेका छन् । त्यस्तै लास्कु खोलामा आएको बाढीबाट एउटा झोलुङ्गे पुल बगेको छ ।

दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङ्गा आउने–जाने बाटो बन्द भएको छ । बाढीपहिरोमा परि ५ जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको छ ।

घटनामा घाइते भएका ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले बताए । महाकाली नदी थुनिएपछि जोखिममा परेका स्थानीय बासिन्दाले हिजो तत्काल उद्धार गर्न प्रशासनसँग माग राखेका थिए ।

महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ । बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति पुर्याएको छ । सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ ।

लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएर वा ग्रेगान बहाव भइ कटानले ठूलो बाढीको रुप लिएको हुनसक्ने अनुमान छ । यस्तो घटनाको पूर्वानुमान गर्न कठिन हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =