वीरेन्द्रनगर डेंगीको उच्च जोखिममा

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगी रोगको उच्च जोखिममा रहेको पाइएको छ । डेंगी रोगको खोप पनि नभएको र खास उपचार पनि नभएको हुँदा यसको नियन्त्रणको मुख्य उपाय खोज र नष्ट गर्नु नै रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर उच्च जोखिममा रहेको हो । जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा १०५ जना डेंगी रोगका बिरामीमध्ये वीरेन्द्रनगरका मात्रै ७५ जना रहेको बताए । उनका अनुसार यो तथ्यांकबाट नै वीरेन्द्रनगर डेंगीको उच्च जोखिममा रहेको पाइएको छ ।

अघिल्लो वर्ष सुर्खेतका १२८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका ७९८ जनामा वीरेन्द्रनगरका मात्रै ७३९ जना डेंगीका बिरामी फेला परेका थिए । वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा नं. ४ मा रहेका छन् । वडा नं. ४ मा १५ जना, वडा नं. ३ मा १४ जना, वडा नं. २ मा १० जना र वडा नं. ६ र ७ मा सात/सात जना बिरामी फेला परेको गिरीले जानकारी दिए । डेंगी रोग विरुद्ध खोप पनि नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु रहेको उनले बताए ।

डेंगी बिरामीलाई अत्यधिक ज्वरो आउने भएकोले सिटामोल बाहेक अन्य औषधि प्रयोग गर्न नहुने सुझाव दिँदै उनले दिउँसो मात्र टोक्ने लामखुट्टेलाई नष्ट गर्नु नै उत्तम विकल्प भएको जनाए ।

यता वीरेन्द्रनगरमा डेंगी रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझाव मागेको छ । सो अवसरमा नगरपालिकालाई सरसफाइमा जोड दिन, यसबाट बच्ने उपायहरू घरघरमा पुर्‍याउन सुझाव दिएका छन् ।

लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने, पानी जम्न नदिने, सातामा दुई पटक ट्यांकीलगायतमा जमेको पानी फाल्ने, पूरा बाहुला भएको कपडा लाउने, सुत्दा झुल प्रयोग गर्न नगरवासीलाई प्रेरित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

साथै यस कार्यमा नगरभित्रका सबै टोल विकास समिति, आमा समूह, विद्यालय, निजी क्षेत्रलगायत सरोकारवाला सबैलाई सचेतना जगाई परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले डेंगी रोग नियन्त्रणका लागि जनचेतना नै उत्तम विकल्प भएको बताए । यस्तो बेला ज्वरो बढी आउने हुँदा सिटामोल पर्याप्त रहेको जानकारी दिँदै उनले थप जोखिम आउन नदिन सबै क्षेत्र परिचालन हुनुपर्ने उल्लेख गरे ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले टोल विकास समितिलाई व्यापक परिचालन गरी माइकिङसहित सरसफाइ अभियान थालेर पानी जम्न दिन आव्हान गर्नुपर्ने बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लामखुट्टे नियन्त्रणमा खोज र नष्ट गर्ने अभियानका साथै सबै वडामा एकै पटक सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =