बिपीकाे जन्मजयन्तीमा कांग्रेस तथा शुभेच्छुक संस्थाले गरे विविध कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्ती कांग्रेस तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गरेका छन् ।

बिपी जन्म जयन्तीका अवसरमा काठमाडौँको सुन्दरीजलस्थित बिपी संग्रहालयमा रहेको बिपीको सालिकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरूले माल्यार्पण गरेका थिए । सो क्रममा शर्माले बिपी भनेको बिचार र संस्कार भएको बताए । समाजलाई बुझ्ने क्रममा बिपीको दृष्टिकोण अहिले पनि जीवन्त रहेको उनले बताए ।

उनले अहिले कांग्रेसको घोषणापत्रमा निरन्तरतामा नवीनता प्रदान गर्ने जिकिर गरे । कांग्रेस घोषणा पत्र मस्यौदा समितिका संयोजक समेत रहेका शर्माले पार्टीको घोषणा पत्रले युवाहरूलाई आगामी बाटो देखाउने दाबी गरे । कतै नेपाल श्रीलंका त हुने होइन भन्ने भ्रमपूर्ण प्रचार भइरहेको भन्दै उनले अहिले नेपालमा त्यस्तो अवस्था नरहेको स्पष्ट पारे । शर्माले जनताका बिच आत्मालोचना गर्दै विगतको गल्ती दोहरिन नदिने गरी काम गर्ने बताए ।

जहानियाँ राणा शासनको विरोधमा बिपीका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिए ।

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन विरुद्ध २००३ सालमा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनः स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए ।

उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *