एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई एक/एक लाख पुरस्कार

खोटाङ । केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र-छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो ।

थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट छात्र-छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गरेका छन्  ।गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र-छात्रालाई पुरस्कार प्रदान गरिएको हो ।

केपिलासगढीले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार १८ महिने प्राविधिक शिक्षाका लागि छात्रबृत्ति प्रदान गर्न लागिएको अध्यक्ष राईले जानकारी दिए ।

यसैबीच दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिकाको कार्यालय याङ्सोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र राईले एसइईका उत्कृष्ट एक विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको गाउँपालिका प्रमुख राईले बताए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *