शेखर भन्छन्

‘एमालेले संविधान डिरेल गरेपछि गठबन्धन बन्याे, पवित्र हाे कि अपवित्र चुनावपछि थाहा हुन्छ’

जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले शहीदहरूलाई नसम्झिए सभ्य समाज निर्माण नहुने बताएका छन् । बिहीबार बीपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा आयोजना गरेकाे ‘बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गाेष्ठीलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘यदि हामीले लाेकतन्त्र र राम्राे व्यवस्थाका लागि साहदत प्राप्त गर्ने शहीदहरूलाई नसम्झिए सभ्य समाज निर्माण गर्न सकिँदैन,’ उनले भनेका छन् ।

उनले प्रेस स्वतन्त्रता नभएकाे देशमा लाेकतन्त्र नआउने पनि बताएका छन् । ‘प्रेस स्वतन्त्रता छैन भने त्याे देशमा डेमाेक्रेसी आउनै सक्दैन, हुनै सक्दैन,’ उनले भनेका छन् ।

छुट्टै प्रसङ्गमा उनले एमालेले संविधानलाई ‘डिरेल’ गर्न खाेजेपछि गठबन्धन बनेकाे बताए । ‘एमालेले संविधान डिरेल गरेपछि याे गठबन्धन बनेकाे हाे । उहाँहरूले त्याे प्रयास गर्नुभयाे । त्यसकारण गठबन्ध बनाउनुपर्‍याे । पवित्र भएपनि अपवित्र भएपनि गठबन्धन त बनिसक्याे । अब निर्वाचपछि मात्रै थाहा हुन्छ याे पवित्र हाे कि अपवित्र हाे भनेर,’ उनले भनेका छन् ।

गठबन्धनमा रहेका अन्य ४ वटा दलहरूसँग कांग्रेसकाे विचार, सिद्धान्त केही नमिलेपनि संविधान डिरेल गर्नेविरुद्ध एक बनेकाे बताए । ‘अन्य चारवटा दलहरूसँग केही मिल्दैन । तै पनि गठबन्धन त बनाउनुपर्‍याे । एमालेलाई परास्त गर्न बनाएकाे हाैँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =