गायक परियारकाे विवादित टिप्पणी : ‘नेपाल बलात्कारीकाे देश बन्नसक्छ’

काठमाडौँ । गायक शिव परियारले बलात्कारबारे विवादित टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरिए नेपाल बलात्कारीहरूको देश भनेर नजिर स्थापित हुनसक्ने टिप्पणी गरेका हुन् ।
क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनले गएराति फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो पेशेवर पीडित भनाउँदाहरूलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस् ।’
उनले भोलि प्रधानमन्त्री, मेयर, देखि समाजसेवीसम्मलाई बलात्कारीको ट्याग लाग्न सक्ने चिन्ता व्यक्त गरेका छन् । ‘सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको छ,’ उनले लेखेका छन् ।
उनकाे याे टिप्पणीपछि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा उनकाे आलोचना भइरहेको छ ।









