नागरिकता विधेयकबारे उपेन्द्र यादवसँग छलफल गर्दै राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँग भेटघाट गर्ने भएकी छन् । भेटघाटकाे समय दिउँसाे २ बजे तय भएकाे राष्ट्रपतिका सञ्चार विज्ञ टीका भट्टराईले जानकारी दिए । ‘तय भएकाे कार्यक्रम नै हाे,’ भट्टराईले मकालुखबरसँग भने, ‘दिउँसाे २ बजेकाे समय तय भएकाे छ ।’
आसन्न मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनमा भागबन्डाको रस्साकस्सी चलिरहेको समयमा राष्ट्रपतिसँग यादवले भेट्न लागेका हुन् । सत्ता पक्ष गठबन्धन नागरिकता विधेयकको विषयमा एकै ठाउँमा रहेका छन् । उनीहरूले चाँडै राष्ट्रपतिले यसलाई प्रमाणीकरण गर्नुपर्ने भन्दै आएका छन् । मधेशकेन्द्रित राजनीति गरिरहेका यादवपछि राष्ट्रपतिले लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू महन्थ ठाकुर लगायतसँग पनि छलफल गर्ने तयारी गरेकी छन् । यस्तै पूर्वसुरक्षाकर्मीसँग पनि राष्ट्रपतिले छलफल गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे पूर्वसुरक्षाकर्मीहरूसँग छलफल रहेको ढकालले बताएका छन् ।
नागरिकता विधेयक गत भदाै २१ गते साँझ राष्ट्रपति कार्यालय पुगेकाे छ । संविधानत: राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने भए गर्ने र पुन:विचार गर्नुपर्ने भए सन्देशसहित प्रतिनिधि सभा पठाउनुपर्ने व्यवस्था रहेकाे छ । जुन राष्ट्रपतिले गरिसकेकी छन् । दाेस्राेपटक पुगेकाे विधेयकबारे के गर्ने भनेर राष्ट्रपतिले कानूनी तथा संवैधानिक परामर्श लिइरहेकी छन् । उनले राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरिसकेकी छन् ।
यसअघि उनले एमाले, कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरूसँग छलफल गरिसकेकी छन् ।








