अपुराे प्रतिवेदन बुझाउँदै कार्यदल, बाँकी कामकाे जिम्मा देउवा-प्रचण्डलाई

काठमाडाैँ । पाँचदलीय गठबन्धनले बनाएकाे सिट बाँडफाँट कार्यदलले बिहीबार अपुराे प्रतिवेदन बुझाउँदैछ । काम शुरू गरेकाे ३३ दिन बित्दासमेत कार्यदलले पाएकाे जिम्मेवारी निभाउन सकेकाे छैन । आसन्न प्रतिनिधि सभा (१६५ सिट) र प्रदेश सभा (३३० सिट) बाँडफाँटकाे मुख्य जिम्मेवारी पाएकाे ११ सदस्यीय कार्यदलले अन्ततगाेत्वा: अपुरै प्रतिवेदन बुझाउन लागेकाे हाे ।
कार्यदलकाे अन्तिम बैठक शुरू भएकाे छ । बैठकपछि शीर्षस्त नेताहरूलाई प्रतिवेदन बुझाउने सञ्चारमन्त्रीसमेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने र शीर्ष नेताहरूलाई बुझाउने छ,’ उनले भनेका छन्, ‘प्रतिवेदन तयार पारिसकेका छाैँ ।’
किन काम गर्न सकेन ?
कार्यदलले पाएकाे जिम्मेवारीअनुसार काम गर्न नसकेकाे कार्यदलकै एक सदस्य बताउँछन् । किन काम गर्न सकेन ? भन्ने मकालुखबरकाे जिज्ञासामा ती सदस्यले भनेका छन्, ‘कार्यदल-कार्यदल भनेर मात्रै भएन नि ! त्यहाँ धेरै कुराहरू छन् । काम गर्नलाई त बनेकाे हाे कार्यदल । तर, काम गर्नलाई माथिबाटै मिल्नुपर्छ । माथिबाटै कुरा मिलेन र काम गर्न सकिएन ।’
उसाे त खासगरी प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चुनावपछि काे प्रधानमन्त्री बन्ने हाेडबाजी चलिरहेकाे छ । यसैकारण पनि कार्यदललाई काम गर्न सहज नभएकाे ती सदस्य बताउँछन् । उनले भने, ‘हामीले/कार्यदलले काम गर्नका लागि पनि माथिबाटै मिल्नुपर्ने हाे । माथि नमिलिसकेपछि काम भएन । अब प्रतिवेदन बुझाउँछाैँ, त्यसपछि हाम्रा नेताहरू नै मिल्नुहुन्छ कि मिल्नुहुन्न कि उहाँहरू नै हाे ।’
देउवा-प्रचण्ड बढीभन्दा बढी सिट लिएर जित्दा प्रधानमन्त्री बन्न सहज हुने स्वाभाविक प्रक्रियालाई जानेर मरिहत्ते गरिरहेका छन् । कांग्रेसले १०० सिट नछाड्ने बताउँदैछ भने माओवादी केन्द्रकाे दाबी ६० सिट छ । जबकि त्यहाँ अन्य तीनवटा घटकहरू; एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा पनि छन् । उनीहरूले क्रमश: ४०, २५ र २ दाबी गरेका छन् । उनीहरू सबैकाे दाबी सिट संख्या २२७ पुगेकाे छ । जबकि उनीहरूले १६५ सिटमै बाँडफाँट गर्नुपर्ने छ । यही कारण पनि कार्यदलले काम गर्न सकेन ।
बाँकी कामकाे जिम्मा देउवा-प्रचण्डलाई
कार्यदलले बाँकी कामकाे जिम्मा दुई ठूला दलका शीर्ष नेताहरू देउवा-प्रचण्डलाई दिएकाे छ । सूत्रकाअनुसार अहिलेसम्म प्रतिनिधि सभाकाे कुल १६५ सिटमध्ये बुधबारसम्म ८८ सिटमा मात्र समझदारी जुटेको छ । बाँकी सिटमा सहमति जुटाउने प्रयास भएपनि सहज देखिएकाे छैन । ‘बाँकी सिटकाे सन्दर्भमा सहमति जुट्ला भन्ने लागेकाे छैन आजकाे बैठकमा पनि,’ बैठकअघि ती सदस्यले भनेका छन् ।
उहाँहरूलाई नै किन ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘त्याे त स्वाभाविकरूपमा उहाँहरू नै मुख्य नेताहरू पनि, उहाँहरूले अन्य नेताहरूसँग परामर्श लिनुहाेला नि ।’








