के ‘स्टारडम’काे आडमा ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ भइरहेको छ ?

'स्टारडमकै कारण यस्ता धेरै घटनाहरू घट्छन्'

काठमाडौँ । पछिल्लो समय विभिन्न क्षेत्रमा नाम कमाएका चर्चित अनुहार (सेलिब्रिटी) हरू ‘सेक्स्यूअल ह्यारेसमेन्ट’ सँग जोडिँदै आएका छन् । यसका पछिल्ला उदाहरण हुन् नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने । उनीविरुद्ध प्रहरी वृत्त, गौशालामा जाहेरी परेको छ । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् । किशोरीले दिएको जाहेरीमा सन्दीपले गत भदौ ५ गते दिनभरि भक्तपुरका विभिन्न ठाउँ घुमाएको र राति काठमाडौँको एक होटलमा ल्याएर पटक-पटक जबरजस्ती करणी (बलात्कार) गरेको उल्लेख गरिएकाे छ ।

यसपछि प्रहरीले अनुसन्धानसमेत थालिसकेको छ । प्रहरीले सन्दीप र किशोरी गएको भनिएको होटलको सीसीटीभी फूटेजसमेत लिइसकेको छ । अब यसपछि थप अनुसन्धान अघि बढ्ने नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताएका छन् । उनले मकालुखबरसँग भने, ‘अनुसन्धान अधिकृतको सल्लाह र निर्देशनअनुसार हामी अगाडि बढ्छौँ । किशोरीको स्वास्थ्य परीक्षणबाट पनि धेरै कुरा आउँछ भन्ने ठानेका छाैँ । त्यसबाहेक हामीले घटनास्थलसमेत पुगिरहेका छौँ । थप पुग्नेछौँ ।’

उसो त यसखाले ‘केश’ पहिलो भने होइन । यसअघि बाहिरिएकाे जल्दाबल्दा अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहको सन्दर्भ पनि सन्दीपको भन्दा खास फरक थिएन । यद्यपि उनले भने सफाइ पाएका छन् । उनले क्षतिपूर्तिस्वरूप १० लाखसमेत गरी साढे २ वर्ष कारागार भुक्तान गरेपछि सफाइ पाउँदैछन् । पललाई अदालतले २०७९ भदौ २१ गते साँझ मात्रै सफाइ दिएको थियो । संयोग नै भन्नुपर्छ— सोही साँझ सन्दीपविरुद्ध जाहेरी पर्‍याे । हुन त पल पनि पहिलो व्यक्ति होइनन्, जसको नाम किशोरीसँग जोडियो । यसअघि पनि धेरैको नाम नाबालिकासँग जोडिएको थियो ।

उसो त सुन्दरी प्रतियोगिताका आयोजक मनोज पाण्डे नै पनि यहाँबाट अछुताे रहेनन् । उनीविरुद्ध पनि नाबालिका जोडिएकै ‘केश’ छ । उनले १६ वर्षीय किशोरीलाई काठमाडौँको एक होटलमा बाेलाएर लेमनेट पिलाइ जबरजस्ती करणी गरेको आरोप छ । खासगरी पल, सन्दीप र मनोजको यो ‘केश’ले अरु केशहरूभन्दा फरकखाले ‘प्रवृत्ति’ देखाएका छन् ।

यसबाहेक धेरै क्षेत्रमा चर्चा कमाएका अनुहारहरूको नाम पनि विभिन्न महिलाहरूसँग जोडिँदै आएको छ । राजनीति, कलाकारिता, पत्रकारिता, सामाजिक अभियान; सबै-सबै तत्‌तत् खालका आरोपबाट खासरूपमा टाढा देखिँदैनन् । तत्कालीन सभामुख कृष्णबहादुर महराकै नाम पनि महिलासँग जोडिएको थियो । यद्यपि उनको नाम पल, सन्दीप र मनोजकोझैँ नाबालिकासँग भने जोडिएको थिएन । जे होस् यहाँ उत्खनन गर्न खोजिएको विषय हो— के कुनै पनि क्षेत्रमा चर्चा/नाम कमाएका व्यक्तिहरूले ‘स्टारडम’ को आँटमा त्यस्तो घृणित र कानूनीरूपमा बर्जित काम गरिरहेका छन् ?

हुन त व्यक्तिअनुसारको विश्लेषण र बुझाइ निस्कन सक्छ, फरक हुनसक्छ । यहाँ खासगरी समय, समाज र व्यक्तिलाई बुझेर समसामयिकरूपमा अधिकारकाे वकालत गर्ने महिला तथा माधवअधिकारकर्मीहरूसँग यी नै विषयवस्तुबारे जिज्ञासा राखेका छौँ ।

‘स्टारडमकै कारण यस्ता धेरै घटनाहरू घट्छन्’

हामी साधारणतयाः चर्चित नामहरू मुछिएको यस्ताखाले घटनाहरू धेरै मात्रामा सुन्छौँ/देख्छौँ । हुन पनि समाचार पनि उसैको बन्छ, जसलाई आमले चिन्दछन् । यही भएर पनि चर्चित व्यक्तिहरूबारे बढी नै सुनिएको पनि हुनसक्छ । यो तर्कमा सहमत जनाउँछिन् महिला अधिकारकर्मी सुनिता मरिक दोम ।

सेक्स्यूअल ह्यारेसमेन्टका घटनाहरू प्रायः ठाउँहरूमा हुने भएतापनि बाहिर भने चलेकै अनुहारहरूको आउने उनी बताउँछिन् । ‘सेक्स्यूअल ह्यारेसमेन्ट सेलिब्रेटीहरूमा मात्र नभएर साना तहदेखि माथिल्लो तहसम्मै पनि भइरहेका छन्,’ उनले भनिन्, ‘सुरक्षित भनिने स्थानहरूमा त यस्ता घटना घट्छन भने त्यो त मनोरञ्जन र ग्ल्यामरस क्षेत्र हो । कारण यही हो भन्न नसके पनि कसैले सोअप गर्न, कसैले स्वार्थका लागि गर्ने गर्छन् । नेपालमा स्वतन्त्रता छ । तर स्वतन्त्रताको दुरूप्रयोग भइरहेका छ । यसमा महिला र पुरूष दुवै उत्तिकै दोषी देखिन्छन् ।’

स्टारडमको आँटमा यो भइरहेको भन्न सकिन्छ (?) भन्ने प्रश्नमा दोम भन्छिन्, ‘सबै केशहरू त्यस्ता हुँदैनन् । तर, हुँदै हुँदैनन् भन्न पनि सकिन्न । यसो घटनाको ढङ्ग हेर्दा स्टारडमकै आँटमा भइरहेका हुन् भनेर भन्न पनि मुस्किल हुँदैन । जे होस् स्टारडम पनि एउटा कारण त पक्कै हो ।’

महिला तथा मानवअधिकारर्की मोहना अन्सारी सेलिब्रेटीहरू भएकै कारणले दोष लगाइरहेको जस्तो देखिए पनि वास्तविकता फरक रहेको जिकिर गर्छिन् । ‘आममानिसहरूको यस्तो केश नबाहिरिएको मात्रै हो अथवा बाहिरिए पनि हामीले थाहा नपाएको मात्रै हो । वास्तविकतामा सेलिब्रटीहरूमाथि मात्रै आरोपहरू लगाइएको होइन,’ उनले भनेकी छन्, ‘सामान्य आमजीवन जिउने मानिसहरूको यस्तो केश नबाहिएको हुनसक्छ । कतिपय साना बालिकाहरूमा पनि सेक्स्यूअल ह्यारेमेन्ट हुन्छ । तर, अभिभावकलाई बताएका हुँदैनन् । विशेषगरी सेलिब्रेटीहरू राष्ट्रिय चरित्र भएकाले राजनीतिक आँट पाइरहेका हुन्छन् । जनताको संरक्षण पाउने हुँदा सेलिब्रेटीहरूमा यस्ता घटना घटेको देखिन्छ ।’

स्टारडमकै कारण अधिकांश यस्ता घटनाहरू घट्ने बताउँछिन् अन्सारी, भन्छिन्— ‘राजनीतिक संरक्षण र जनताको दह्रो साथका कारण पनि उनीहरू यस्तो घटना घटाउन सक्छन् । सबै केशमा यो लागू नहुनसक्ला । तर, हिजोआजका घटनाहरू झन्डै यस्तै–यस्तै पनि देखिन्छन् ।’

अर्की महिला तथा मानवअधिकारकर्मी डा. रेणुका सोलु सञ्चारमाध्यम बढी भएका कारण सेलिब्रेटीहरूको समाचार चाँडै आउने तर, आममानिसहरूको नआउने बताउँदै ‘ग्राउन्ड रियालिटी’ बिल्कुलै फरक भएको बताउँछिन् । ‘सञ्चारमाध्यमहरूका कारण सेलिब्रेटीहरूबारेको समाचार एकदमै चाँडै आउँछ । तर, आमजीवन जिउने मानिसहरूको समाचार आउँदैन । फरक यत्ति मात्रै हो, नत्र त समाचार नबनेका यस्ता घटनाहरू धेरै हुन्छन्,’ उनले भनेकी छन् ।

पछिल्लो समय सेलिब्रेटीहरू आफ्नाे स्टारडमकै कारण १८ वर्षमुनिका नाबालिका हुन् भन्ने थाहा पाउँदापाउँदै पनि शारीरिक सम्बन्ध राख्ने गरेको सोलु बताउँछिन् । ‘उनीहरू अभिभावक भएर काम गर्नुको साटो उल्टै समाजमा दुर्गन्ध फैलाइरहेका छन्,’ उनले भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *