बिजुली बालेर २ अर्ब नतिरेको महानगरले प्राधिकरणसँग १५ करोड कर मागेपछि विवाद

काठमाडौँँ । काठमाडौँँ महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच एक अर्कालाई बुझाउनु पर्ने बक्यौता (कर/महशुल)बारे विवाद सिर्जना भएको छ ।

खास गरी सम्पत्ती करबापत प्राधिकरणले महानगरलाई बुझाउनु पर्ने बक्यौता रकम १० दिनभित्र बुझाउन महानगरले प्राधिकरणसहित सरकारी तथा निजी स्वामित्वका १७ वटा संस्थालाई मंगलबार पत्र लेखेको थियो । उक्त समयभित्र कर नबुझाए कानुनअनुसार कारवाही गर्ने चेतावनी समेत महानगरले उक्त पत्र मार्फत दिएको थियो ।

त्यस मध्ये सरकारको पूर्ण स्वामित्व रहेको संस्थान विद्युत् प्राधिकरणले भने महानगरभित्र बालिएका सडक वत्ति बापतको झण्डै २ अर्ब रुपैयाँ महानगरले पनि आफूहरुलाई बुझाउन बाँकी रहेको भन्दै सम्पत्ती कर नबुझाउने अडान लिएको हो ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले मकालुखबरसँग भने– ‘महानगरका सडकमा बालिएका सडक बत्तिले उठाएको विद्युत्को महशुल २०७१ सालदेखि नै बक्यौता छ ।’

देशभरका कुनै पनि स्थानीय तहमा यति ठूलो महसुल रकम बक्यौता नरहेको र काठमाडौँँ महानगरमा मात्रै रहेको समेत उनले बताए ।

‘प्राधिकरणले देशभरका सबै स्थानीय तहका सार्वजनिक ठाउँमा स्थानीय तहकै आग्रह तथा सिफासिरमा बत्ति दिएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘काठमाडौँँ महानगरले मात्रै यति लामो समयसम्म यति ठूलो बक्यौता रकम नतिरहेको हो ।’

२०७४ सालमा मात्रै स्थानीय निकाय बनेकोले २०७४ पछिको बक्यौता हालको काठमाडौँँ महानगर र त्यसअघिको बक्यौता केन्द्र सरकारले तिर्नुपर्ने उनले बताए ।

‘२०७४ अघिको बक्यौता सरकारले तिर्दा महानगरले तिर्नुपर्ने बक्यौता पनि कम हुन आउँछ,’ उनले भने, ‘यसबारे दुबै निकाय बसेर छलफल गरी निचोडमा पुग्न सकिन्छ । यसलाई ठूलो मुद्दा बनाउनुभन्दा छलफलमा बस्नु बेस हुन्छ ।’

उनका अनुसार प्राधिकरणले महानगरलाई तिर्नुपर्ने सम्पत्ती करबापतको बक्यौता रकम करिब १५ करोडको हाराहारीमा छ । त्यही रकम उठाउन महानगरले मंगलबार पत्रमार्फत तोकता गरेको थियो ।

‘यतिका वर्षसम्म बक्यौता महशुल तिर्न महानगरलाई प्राधिकरणले पनि त पक्कै ताकेता ग¥यो,’ प्रवक्ता भट्टराई भन्छन्, ‘यो ताकेता गर्ने कुरा भन्दा पनि कानुनअनुसार तिर्नुपर्ने कर, राजस्व तथा महशुल तिरेर प्रत्येक निकायले आफैँमा जिम्मेवार बन्ने कुरा पनि हो ।’

काठमाडौँँको मेयर बालेन साहले भने मंगलबार फेसबुकमा स्टाटस राख्दै प्राधिकरणले महानगरको कुन वडामा बालिएको बत्तिको कति युनिट विद्युत् उठ्यो भन्ने विस्तृत हिसाब नपाएसम्म उक्त बक्यौता तिर्न नसकिने बताएका छन् । तर, यो लामो समयदेखिको बक्यौता भएकोले यसका लागि पनि दुवै पक्षबीच छलफल आवश्यक रहेको प्रवक्ता भट्टराईको भनाई छ ।

‘महानगर तथा वडाले आग्रह वा सिफारिस नगरी महागरभित्र सार्वनिक ठाउँमा प्राधिकरण आफैँले बत्ति राखेको छैन,’ उनले भने, ‘बसेर छलफल गरे यो विषय पनि मिलाउन सकिन्छ । यसलाई ठूलो मुद्दा बनाउनु भएन भन्ने हाम्रो भनाइ हो ।’

मंगलबार बालेनले फेसबुकका लेखेका छन्–

काठमाडौँँ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ ।

१. काठमाडौँ महानगरपालिका काठमाडौँँ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।

२. नेपाल बिद्युत् प्राधिकरणले काठमाडौँ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौँ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो ।

३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संवैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ ।

४. सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छ रहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो विषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ ।

५. सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ ।

योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिँदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउँदछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =