शेखर भन्छन्- ‘गठबन्धनमा अधिकांश सिट कांग्रेसले लिन्छ’

टिकट कसले पाउँछ भन्ने नहेरीकन घरदैलाेमा जानूस्

काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घरदैलाे कार्यक्रम गर्न नेता/कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बुधबार धनुषा क्षेत्र नं. २ मा आयोजित कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘चुनाव आइसक्याे, तपाईंहरू घरदैलाेमा जानूस् । टिकट कसले पाउँछ भनेर साेचेर नबस्नुस्,’ उनले भनेका छन् ।

पार्टीका तल्ला तहले सिफारिस गरेका नाममध्येबाटै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार गर्ने बताउँदै उनले भने, ‘त्यसमा केन्द्रीय समितिले निर्णय गर्ला । त्यसपछि तल्ला तहले सिफारिस गरेकै आधारमा टुङ्गिन्छ । तपाईंहरूले चुनाव जित्ने र जिताउनेगरी काम गर्नुपर्‍याे ।’ उनले मधेशका कारण कांग्रेस सरकारमा जाने बताए । ‘मधेशले गर्दा कांग्रेस सरकारमा पुगेको हो । जुन बेला मधेशमा पार्टी कमजोर भयो, त्योबेला सरकारमा पुगेको छैन । एक वर्षयता हामी सरकारमा छाैँ तर, याे विशिष्ट परिस्थितिमा बनेको हाे,’ उनले भनेका छन् ।

उनले गठबन्धन गरेर जाँदा पनि अधिकांश क्षेत्र कांग्रेसले नै लिने र लिनुपर्ने बताए । कांग्रेसले जस्तै धेरै सिट लिन माओवादी, जसपा लगायतका दलले खोजिरहेको उल्लेख गर्दै भनेका छन्, ‘त्यमसा पनि बढी सिट कांग्रेसले नै लिन्छ ।’ गठबन्धनमा कांग्रेसले प्रतिनिधि सभाकाे १०० सिटकाे दाबी गरिरहेकाे छ । तर, अन्य घटकहरूले भने मानिरहेका छैनन् । उनीहरूले बढीमा ८६ सिटसम्म दिने बताएका छन् ।

शेखर समूहले कांग्रेसलाई परेकाे सिटमा पनि ६०/४० काे दाबी गरिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =