२ वर्षभित्र कर्णालीका सबै घरमा विद्युत पुर्‍याउँछाैँ : ऊर्जा मन्त्री

काठमाडौँ । ऊर्जा मन्त्री पम्फा भुसालले दुई वर्षभित्र प्रसारण लाइनमार्फत कर्णालीका सबै घरमा विद्युत्को पहुँच पुराउने गरी काम भइरहेको बताएकी छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा सांसद भीमबहादुर रावलले राखेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएकाले भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफलका क्रममा मन्त्री भुसालले अहिले प्रसारण लाइन नपुगेका स्थानमा पनि वैकल्पिक ऊर्जाका माध्यमबाट बिद्युत्को पहुँच पुराइएको समेत बताइन् । उनले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार विद्युत्को उत्पादन गर्न नसकिएको उल्लेख गरिन् ।

त्यस्तै, उनले जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बूढीगङ्गा र दूध कोसी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिइन् । मन्त्री भुसालले पाँच वर्षभित्र सरकारले लिएको विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न कठिन भएपनि काम भने तीव्रताका साथ भइरहेको बताइन् ।

त्यसअघि जरुरी सार्वजनिक महत्त्वमाथिको प्रस्तावका क्रममा रावलले नेपालका सबै स्थानमा बिद्युत्को पहुँच पुराएर मात्रै विद्युत् निर्यात नीति प्रवर्द्धन गर्नुपर्ने बताइन् । उनले नेपालको केही आयोजनाहरू भारतको जिम्मा लगाउने काम नेपालको हितमा नरहेको र यसले भविष्यमा विद्युत् बिक्री वितरणमा समेत असर पार्न सक्ने तर्क गरिन् ।

प्रतिनिधिसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधि सभाको अर्को बैठक २५ गते शनिवार बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =