लामिछानेविरुद्ध अनुसन्धान अघि बढेको छ : प्रहरी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले बताएको छ ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३:५५ बजे का का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं। ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।
त्यस्तै प्रहरीले पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा विस्तृत स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको बताएका छन् ।
नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोप लगाएकी हुन् ।
पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका हुन् । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ ।








