प्रचण्ड भन्छन्

‘मनाेनयनपछि संसद् रहँदैन, ईफ-बट केही हुँदैन’

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनाेनयन दर्ता भएपछि स्वत: संसद् विघटन हुने बताएका छन् । मंगलबार धनगढी आएका उनले यस्ताे बताएका हुन् । ‘एकदिन पनि यता-उता हुँदैन, गर्नु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मनाेनयनपछि संसद् रहँदैन । त्यहाँ कुनैखाले दुविधा राख्नु पर्दैन,’ धनगढी विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले भनेका छन् ।

यसबीचमा प्राविधिक कारणले प्रमुख सचेतकहरूले संसद्काे आयु लम्ब्याउने साेचेपनि त्याे नहुने उनले बताए । ‘उहाँहरूले त्याे साेच्नु भएपनि पछि गठबन्धनका शीर्ष नेतृत्वहरू बसेर यसरी साेच्नु हुँदैन, कहीँ ईफ-बट केही हुँदैन र हुन दिनु हुँदैन भनेर सल्लाह भइसकेकाे छ । अब ४ गते निर्वाचन हुन्छ, त्याेभन्दाअगाडि केही कम्फ्यूजन राख्नु हुँदैन । केही समय थप्ने कि भन्ने कुरा अब फिर्ता हुन्छ,’ उनले भनेका छन् ।

‘पाँच वर्षमा साेचेजत्ति सरकारले काम गर्न सकेन’

उनले गत ५ वर्षमा सरकारले साेचेजत्ति काम गर्न नसकेकाे बताए । उनकाे स्वीकाराेक्ति छ— ‘याे ५ वर्षमा सरकारले गर्नुपर्ने कामहरू गर्न सकेन, जनतालाई जत्ति मात्रामा राहत दिनुपर्थ्याे, त्याेचाहिँ नभएकै हाे ।’

ठूलाे सपना देखेर वामपन्थी गठबन्धन गरेकाे तर, नेतृत्वकै कारण एकता भङ्ग हुँदा जनताका सपनाहरू भताभुङ्ग भएकाे उनले बताए । ‘अब देशमा राजनीतिक स्थिरता हाेला, आर्थिक विकास हाेला र त्यसपछि सबै क्षेत्रमा धेरै काम गर्न सकिएला भन्ने सपना देखेरै नै मैले नै त्याे प्रस्ताव अगाडि सारेर वाम गठबन्धन गरेकाे हाे । र, त्यसलाई जनताले निकै उत्साहपूर्ण अनुमाेदन पनि गरेका हुन् । तर दुर्भाग्य भन्नुपर्छ, हामीले नै प्रस्तावित गरेकाे प्रधानमन्त्रीबाट हामीले घाेषणापत्रमा भनिएजस्तै वाम गठबन्धन र पार्टी एकताकाे प्रतिबद्धताहरू उल्लघंन गर्दै जाने र सबै अरुलाई निषेध गर्दै जाने, आम नेता/कार्यकर्ताहरूकाे र संविधानलाई कुल्चेर जाने भएपछि हामी बाध्य भएर संघर्षमा उत्रियाैँ,’ उनले भनेका छन् ।

आफूहरूले संघर्ष गर्नुपर्छ भनेर कहिल्यै नसाेचेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘याे देशमा राजनीतिक स्थायित्वकाे जरुरत छ । याे देशमा समाजवादकाे यात्रा अगाडि बढाउन आवश्यक छ । जनताले राेजगारी, विकास, समृद्धि, शिक्षा, स्वास्थ्य जसरी  खाेजेका छन्, त्यसलाई सम्बाेधन गर्न जरुरी छ ।’

अबकाे निर्वाचनपछि बन्ने सरकारले भने त्यसलाई सम्बाेधन गर्न सक्ने उनले बताए । ‘हाम्राे जाेडचाहिँ केमा छ भने याे निर्वाचनपछि बन्ने सरकारले त्याे काम गर्ने वातावरण बनाेस् भन्ने हाम्रा चाहना छ । हामी माओवादी केन्द्र त्यसैमा केन्द्रित छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =