अत्याचारका विरुद्ध लड्ने असली कम्युनिस्ट पार्टी समाजवादी मात्र : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न समुदायलाई हुने अत्याचारको विरुद्ध पार्टीले सशक्त रूपमा आवाज उठाउने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्य प्रणालीमा देखिएका विकृतिविरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपंक्तिमा उभिने बताएका हुन् ।

उनले महिला हिंसा अन्त्य, गरिबीमा रहेका समुदाय, अल्पसंख्यक लगायतका विषयमा पार्टीको विशेष ध्यान जाने जिकिर गरे । अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्ने धारणा राखे ।

उनले वास्तविक कम्युनिस्ट विचार बोकेर हिँड्ने आफ्नो मात्रै पार्टी भएको दाबी गरे । त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई रूपान्तरण गर्न सबै दृढ भएर लाग्नुपर्ने बताए ।

उनले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरूलाई सम्मानजनक स्थान दिइने धारणा राखे । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता रणबहादुर रम्तेललाई एकीकृत समाजवादीमा प्रवेश गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =