‘सांसद नै मन्त्री, प्रधानमन्त्री हुने व्यवस्थाले भ्रष्टाचार संस्थागत भयाे’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शासन प्रणाली र चुनाव प्रणाली बदल्न आन्दोलनमा जाने बताएका छन् ।
आइतबार काठमाडौँमा मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले शासन प्रणाली र चुनाव प्रणाली परिवर्तन गरी मुलुकलाई समाजवादमा लैजान निर्वाचन पछि सडकमा जाने बताएका हुन् ।
अरूले गर्ने आन्दोलन प्रतिगमन मात्रै भएको तर समाज रूपान्तरणको आन्दोलन आफूहरूले बाहेक अरूले गर्न नसक्ने उनले बताए । प्रचण्डले सांसद नै मन्त्री, प्रधानमन्त्री हुने व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत गरेको समेत बताए ।
जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रमुखले मन्त्री छान्न पाउने अधिकार दिए मात्र भ्रष्टाचार अन्त्य हुने उनको भनाई छ । उनले मुलुकको व्यवस्था परिवर्तन गर्नका लागि कम्युनिस्ट एकता गर्नका लागि आफूले नै प्रस्ताव गरेको र एकतापछि सफल हुन नसकेको जिकिर गरे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई परिचालन र आकर्षित गर्ने न्यूनतम पक्ष दलमा नभए पार्टी र दलको कुनै अर्थ नरहने बताए । समाजवादको नेपाली मोडललाई प्राथमिकतालाई ध्यान राखी समाजवादको बाटो तय गर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै एमालेका नेता घनश्याम भुसालले वाम मोर्चा बनाउन नसक्नु दुखद भएको बताए ।








