ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध सहकारीबीच कृषि अनुदान कर्जासम्बन्धी समझदारी

काठमाडौँ । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारालगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा भैँसी पालन गरी दूध तथा दूग्धजन्य वस्तु उत्पादन गर्ने कृषकलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

उक्त अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानलाई डिजिटल बैंकिङ्ग सेवाको मूलप्रभावमा जोड्न वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । कार्यक्रममा तीन सयभन्दा बढी स्थानीयको उपस्थिती थियो ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७७ जिल्लामा बैंकको २८९ शाखा, २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८९० सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *