संसद्काे कार्यकाल बढाउन सर्वदलीय सहमति, फास्ट ट्र्याकबाट अघि बढाइने

काठमाडौँ । प्रतिनिधिसभाको कार्यकालसम्बन्धी कानुन छिटो बनाउन राष्ट्रिय दलहरूका बिचमा सहमति जुटेको छ । सर्वदलीय सहमति अनुसार प्रतिनिधिसभाको कार्यकालसम्बन्धी विधेयक संसद्मा फास्ट ट्र्याकमा अघि बढाइने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार विधेयक परिपक्व हुन लाग्ने पाँच दिनको समय घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई घटाएर २४ घण्टामा झारिनेछ ।

फास्ट ट्र्याकमा विधेयक अगाडि बढाउनका लागि नियम निलम्बनको प्रस्ताव सभामा नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रस्तुत गर्नेछन् ।

सरकारले यो विधेयक शुक्रवार मात्र संसद् सचिवालयमा दर्ता गरेको थियो । यो विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसद्को कार्यकाल रहने प्रस्ताव गरिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १०५ मा विधेयक प्रस्तुत गर्न अनुमति माग्ने सम्बन्धी प्रस्ताव छ । विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना पाँच दिन अगाडि दिनुपर्ने व्यवस्था छ । यसलाई घटाएर एक दिनमा झारिएको हो ।

यस्तै नियमावलीको नियम १११ मा विधेयकमाथि सामान्य छलफल समाप्त भएको बहत्तर घण्टाभित्र संशोधन प्रस्ताव पेस गर्न सकिने व्यवस्था छ । यसलाई घटाएर २४ घण्टामा झारिएको हो । यस अनुसार आजै विधेयक सभामा प्रस्तुत हुनेछ ।

प्रतिनिधिसभाको दोस्रो बैठक बस्नेछ र दोस्रो बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =