आन्दोलन स्थगित गरी निर्वाचनकाे तयारीमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडाैँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन् ।

उनले कर्मचारीहरूको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिबद्धता जनाए । ऐनको सन्दर्भमा आएका सुझावहरूका बारेमा आफू जानकार रहेको भन्दै उनले ऐन अघि बढाउँदै कर्मचारीको मागका साथै समय सापेक्ष सुधारको बाटो अवलम्बन गरिने धारणा राखे । उनले स्थायी सरकारको रूपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनीय दस्ताबेज भएको भन्दै कर्मचारीहरूको जायज मागलाई सम्बोधन हुने गरी ऐनलाई अन्तिम रूप दिनुपर्ने बताए ।

कार्यक्रममा कर्मचारीहरूले आफूहरूको वृत्ति विकासका लागि अन्य विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै केही व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =