नाम सिफारिस भएर पनि अन्यौलमा छन् कांग्रेस नेताहरु

विराटनगर । नेपाली कांग्रेसले मोरङका संभावित उम्मेदवारको नाम पार्टीलाई सिफारिस गर्ने क्रमलाई अन्तिम चरणमा पुर्याएकोछ । नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार यसरी नाम सिफारिस भएकाहरुमा सुनिल शर्मा बाहेक अरु क्षेत्रमा २ देखि ५ जनाको नाम सिफारिस भएको छ।
मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्माको नाम सर्बसम्मत सिफारिस गरेको भएपनि अरु क्षेत्रमा ५ जनासम्मको नाम सिफासिर भएको छ । ६ वटा निर्वाक्षेत्र रहेको मोरङको क्षेत्र नम्बर १ मा जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल र जयाधर्मा आचार्यको नाम सिफारिस भएको छ। त्यस्तै क्षेत्र नम्बर २ मा यस अघि निर्वाचित डा मिनेन्द्र रिजाल र सुजाता कोईरालाको नाम सिफारिस गरिएको जिल्ला सचिव घिमिरेले मकालुखबरलाई जानकारी दिए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा सुनिल शर्माको एकल नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४ मा भने ५ जनाको नाम सिफारिस भएको छ। यसरी नाम सिफारिस भएकाहरुमा महेश आचार्य, दिलिप गच्छदार, गुरुराज घिमिरे, अमृत अर्याल र भिम पराजुली छन् । आचार्य पटक पटक संघीय मन्त्री भईसकेका केन्द्रीय नेता हुन् भने गच्छदार संविधानसभाको सदस्य भईसकेका नेता हुन् । त्यस्तै घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश १ को सभापतिमा पराजित नेता हुन् भने पराजुली विराटनगर महानगरपालिकाको तात्कालिन मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । अमृत अर्याल भने संविधान सभाको सदस्य भईसकेका र हालका पार्टी केन्द्रीय सदस्य हो । यो क्षेत्रमा नेपाली कांग्रेसका धेरै केन्द्रीय नेताहरु सकस देखिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा अमृत आर्याल र हसन अन्सारीको नाम सिफारिस भएको छ। सिफारिस भएको ब्यक्तिहरु दुबैजना पार्टी केन्द्रीय सदस्य हुन् । अर्यालको ४ र ५ दुबै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। अर्यालको निर्वाचन क्षेत्र ५ भएकोले त्यहाँ गठबन्धन दलका नेतालाई दिनु पर्ने अबस्था आउँदा उनको नाम क्षेत्र नम्बर ४ मा पनि राखिएको छ । त्यस्तै कांग्रेस सभापतिमा पराजित भएका डा शेखर कोईरालाको निर्वाचन क्षेत्र नम्बर ६ बाट सिफारिस भएको छ। यो क्षेत्रमा कोईराला सहित डा डिला संग्रौलाको पनि नाम सिफारिस गरिएको छ। मोरङ जिल्लामा क्षेत्रगत रुपमा पार्टीले नाम सिफारिस भएर माग गरे अनुसार सबै क्षेत्रबाट नाम पठाईएको भएपनि क्षेत्र बाँडफाँडमा अहिलेसम्म कुराकानी नै नभएको कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।
पार्टीले कुन क्षेत्रमा कसरी जाने भनेर स्पष्ट निर्देशन नदिँदा समस्या भएको नेताहरुको बुझाई छ। ‘चुनाव नजिकिँदै गएको छ, कुन क्षेत्रमा कसरी चुनावी अभियान लिएर जाने भन्ने अन्यौल सिट बाँडफाडले गर्दा भएको छ, कांग्रेसका एक केन्द्रीय नेताले भने, कुरा गर्दा आफ्नै नेताको विरोध गरेको जस्तो हुन्छ, जित्ने आधार भएका क्षेत्रहरु पनि अर्को पार्टीलाई दिएर बिस्थापित हुनुपर्ने अबस्था आएको छ।’मोरङ जिल्लामा क्षेत्र नम्बर ४ र ५ नेकपा माओवादीलाई छाडेर अरु क्षेत्र नेपाली कांग्रेसले पाउनेगरि केन्द्रमा छलफल भई रहेको बुझाई गठबन्धन दल भित्र छ ।








