गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए ।

‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भने ।

आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उहाँले उल्लेख गरे । उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पु¥याउन काम गरिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए
। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उनले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको बताए ।

कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरे । ‘सरकारले देशको कुल बजेटको जम्मा पाँच दशमलव ७५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रका लागि एकदमै न्यून हो’, उनले भने ।

नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रापलब्ध गराउनुपर्ने बताए । जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आगामी दिनमा कांग्रेस आफँेले राख्नुपर्ने उनको भनाई थियो । उनले पार्टी र संसद्का महत्वपूर्ण क्षेत्रमा पेशागत क्षेत्रको प्रतिनिधित्व गराउन सकेमात्र देशको विकास हुने स्पष्ट पारे ।

कांग्रेस पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्रजातन्त्रवादी प्राध्यापक सङ्घले भूमिका खेल्नुपर्ने बताए । आगामी मङ्सिरमा हुन लागेको निर्वाचनमा चिकित्सकहरूलाई टिकट दिएर सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वास्थ्य सल्लाहकार डा आरपी विच्छाले वर्तमान सरकारले सबै नेपालीलाई खोपको सुनिश्चितता गरेर प्रशंशनीय काम गरेको बताए । ‘कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा नर्सलाई भत्तादेखि लिएर चिकित्सकको सुरक्षाका लागि बनेको ऐन पास गरेर चिकित्सा क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको छ’, उनले भने ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की, प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, प्रजातन्त्रवादी चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठलगायतले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरे ।

विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए । सो अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केसी, लक्ष्मीराज पाठक र महासचिव डा मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =