आलमलाई उम्मेदवार नबनाउने महामन्त्री थापाकाे भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका नेता अफताव आलमलाई उम्मेदवार बनाउन नसकिने बताएका छन् ।
शुक्रवार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरेका हुन् ।
साहित्यकार नयनराज पाण्डेले इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ भनेर छेड हानेपछि थापाले आलमलाई कांग्रेसले उम्मेदवार नबनाउने बताए ।
पाण्डेलाई जवाफ दिँदै थापाले भने – ‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो । कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो । संविधानले वर्जित गरेको मात्र होइन नैतिकताको कसीमा राखेर हेर्दाखेरि छाती ठोकेर हो यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन । यत्ति कुरा आश्वस्त पार्छु ।’








