आमसञ्चारलाई मर्यादित बनाउन मिडिया काउन्सिल विधेयक : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारलाई स्वस्थ, प्रतिस्पर्धी, मर्यादित बनाउन र पत्रकारितामा पेसागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन् ।
मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै उनले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताएका हुन् । उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै नेपाललाई प्रेस स्वतन्त्रताका क्षेत्रमा अग्रणी मुलुकका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले साबिकको प्रेस काउन्सिलको गतिविधिले पत्रकारिता क्षेत्रको सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले उक्त संस्थालाई प्रतिस्थापन गरी सूचना र सञ्चार क्षेत्रको प्रविधिमा भएको विकास तथा पत्रकारिताको क्षेत्रमा देखिएका नवीन अभ्यास र चुनौतीलाई सम्बोधन गर्न मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको धारणा राखे ।
विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवार अभ्यास बढ्ने, सञ्चारसँग सम्बन्धित विभिन्न पक्षबिचको गुनासालाई स्वनियमबाट सम्बोधन गर्न सकिने उनको भनाई छ ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
त्यसअघि सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधि सभाको अर्को बैठक भदौ १९ गते आइतबार बोलाइएको छ ।








