चोलेन्द्रले भने – आरोप लगाउने व्यक्ति नै न्यायाधीश हुँदैन, महाभियोग पूर्वाग्रही छ

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथिको महाभियोग पूर्वाग्रही ढंगले आएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा जबराले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको पुष्टि हुने कुनै आधार नै नरहेको भन्दै आफूमाथिको महाभियोग समेत पूर्वाग्रही ढंगले आएको बताएका हुन् । पूर्वाग्रही ढंगले आरोप लगाउनु अनुचित भएको उनको भनाई छ ।

उनले आफूमाथि लगाइएको उक्त आरोपको पुष्टि स्वयं समितिमा रहेका पाँच जना हस्ताक्षरकर्ताले गर्नुपर्ने जिकिर गरे । उनले जसले आरोप लगायो, उही नै समितिमा रहनु उचित नभएको र यो न्यायिक मूल्य मान्यताको विपरीत भएको जिकिर गरे । उनले आफूले पदमा रहँदा पदीय आचरण विपरीत कुनै काम नगरेको दाबी गरे ।

कुनै वस्तुनिष्ठ कुरा उल्लेख नगर महाभियोग लगाउनु पूर्णतः गलत रहेको जबराले बताए । उनले महाभियोग लगाउँदा पुष्टि हुने कुरा पनि उल्लेख गर्नुपर्ने भए पनि त्यसो नगरेकाले प्रक्रिया नै गलत भएको जिकिर गरे । नेपाल बारले लगाएको २१ बुँदे प्रस्तावलाई नै महाभियोगको प्रस्तावमा रूपमा ल्याइएको उनको भनाई छ ।

छानबिनको प्रक्रिया प्रति जबराले आपत्ति जनाएपछि समिति सदस्य सांसद रेखा शर्माले नियमावली र संविधानको व्यवस्था अनुसार नै आफूहरू समितिमा उपस्थिति भएको जानकारी दिए । उनले बारको प्रश्न नै महाभियोगको प्रस्तावमा ल्याइएको भन्ने जबराको जवाफले आफूहरू अपमानित महसुस भएको जिकिर गरे ।

त्यस्तै, समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै आपत्ति जनाए । उनले जबराकै कारण चार महिला न्यायालय अवरुद्ध हुनु नै ठूलो प्रमाण भएको जिकिर गरे । खड्काले जबरामाथिको आरोप पुष्टि हुने धेरै आधारहरू रहेको तर्क गरे ।

त्यस्तै, बयानका क्रममा जबराले आफ्नै नेतृत्वमा व्यक्तिका नाममा भएका सरकारी जग्गा सार्वजनिक कायम र कर छलीका मुद्दा फैसला भएको बताए । एनसेल, भाटभटेनीलगायतका ठूला कर छलीका मुद्दामा फैसला आफ्नै कार्यकालमा भएको र धोबीखोलादेखि विभिन्न ठाउँमा व्यक्तिका नाममा भएका सबै सरकारी जग्गा सार्वजनिक कायम भएको जिकिर गरे ।

जबरामाथिको बयान आइतबार पनि जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *