प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको पहल

झापा । चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो समाधान गर्न सरोकारवालाहरू प्रतिबद्ध बनेका छन् । चिया क्षेत्रका समस्यालाई दिगो रूपमा समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने प्रदेश नं. १ का मन्त्रीहरूसहितका सरोकारवालाहरूले प्रतिबद्धता जनाएका हुन् ।

संवाद समूह प्रदेश नं. १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको संवादको क्रममा सात बुँदे साझा प्रतिबद्धता जनाएका छन् ।

प्रदेश नं. १ का कृषि मन्त्री झलकबहादुर मगर (सन्देश), भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी, सांसद जसमाया गजमेर लगायतले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गरेर जाने प्रतिबद्धता जनाए । चिया क्षेत्रमा देखिएका समस्या नीतिगत र व्यवहारिक रूपमा समाधान गर्ने पनि उनीहरूको भनाई छ ।

चियाबाट मात्र वार्षिक चार अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गर्ने प्रदेश १ को मुख्य नगदे बाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिनु पर्ने माग उठेपछि प्रदेश नं. १ लाई चिया विशेष क्षेत्र घोषणा गर्नको लागि प्रदेश सरकारले काम थाल्ने प्रतिबद्धता जनाएका छन् । चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति–निर्माण गर्ने र तत्काल पहल थाल्ने जनाइएको छ ।

त्यस्तै चिया निर्यातमा भारतीय अवरोध हटाउन संघीय सरकारसँग समन्वय गरी कूटनीतिक पहल गर्ने गर्नु पर्ने पनि चिया उत्पादक तथा किसानहरूको माग छ । कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सिनाले प्रदेशमा चियाको गुणस्तर प्रशिक्षण गर्ने ल्याबको स्थापना गर्न सरकारले काम गरिरहेको बताए । ‘तत्कालको आवश्यकता भनेको गुणस्तर सुधारको हो, उनले भने, गुणस्तरको अवस्था पत्ता लगाउने गरी इलामको सूर्योदय नगरपालिकामा चिया प्रवर्द्धन परीक्षण प्रयोगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’

श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी तथा नीति चिया क्षेत्रमा कार्यान्वयन गराउनका लागि कोष मार्फत कार्यान्वयनमा जानु पर्ने सहभागीले बताएका छन् ।

आवश्यकता बमोजिम प्रदेश नं. १ मा चिया विकास बोर्ड स्थापनाको पहल गर्ने र चिया अक्सन बजारको व्यवस्था गर्न प्रदेश सरकारमार्फत तत्काल पहल थाल्ने प्रतिबद्धता समेत जनाइएको छ । उक्त प्रतिबद्धता पत्र सरोकारवालाको हस्ताक्षरपछि बिहीबार नै कृषि मन्त्री मगरमार्फत प्रदेश सरकारलाई बुझाइएको छ ।

कार्यक्रममा चिया श्रमिकहरूको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भूपाल सापकोटा र नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, चिया किसान तथा चिया सहकारीको तर्फबाट पर्वत डाँगी, नेपाल चिया उत्पादक संघको तर्फबाट सुरेश मित्तल र राष्ट्रिय चिया तथा कफ विकास बोर्डका तर्फबाट इन्द्र अधिकारीले चिया क्षेत्रको अवस्था र विषयगत क्षेत्रका समस्याबारे जानकारी गराएका थिए ।

राजनीतिक दलहरूको तर्फबाट कांग्रेस सभापति देउमान थेबे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष वेदराज रेग्मी, जसपाका सचिव सिवन सोराली मगर, लोसपाका अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका अध्यक्ष केशवप्रसाद ओझाले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । त्यस्तै चिया उत्पादक संघका तर्फबाट अध्यक्ष मित्तल र कोषाध्यक्ष विनयराज पोखरेल, साना चिया किसान एवम् सहकारीको तर्फबाट केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ, पर्वत डाँगी, चिया विज्ञ मनोज ढकाल लगायतले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

त्यस्तै श्रमिकहरूको तर्फबाट नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका संयोजक सन्तकुमार राई र वरिष्ठ उपाध्यक्ष सहीकुमार राई, श्रमिक संघका अध्यक्ष तामाङ, अखिल नेपाल ट्रेड युनियन महासंघका सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेस झापाका तर्फबाट यज्ञप्रताप अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =