चोलेन्द्रले उठाए समितिको औचित्यमाथि प्रश्न

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा दोस्रो दिन बयान दिने क्रममा उनले महाभियोगमा प्रस्तावक रहेका सांसद छानबिन समितिमा रहनु न्यायोचित नभएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाएका हुन् ।

त्यस्तै उनले समितिको असक्षम र पूर्णतः विफल भएको भन्ने आरोप पनि उचित नभएको बताए । बिहीबार जबरामाथि दुईवटा प्रश्न सोधिएको थियो । समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिए ।

उनले प्रश्नको जवाफ जबराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए । मंसिर ४ गते चुनाव रहेकाले त्यसअघि नै सबै प्रक्रिया पुरा हुने उनको भनाई छ ।

छलफलपछि कांग्रेस सांसद मीन विश्वकर्माले बिहीबार ५ र ६ नम्बरको प्रश्न सोधिएको बताए । बयानका क्रममा जबराले आफ्नो बचाउको लागि राखेका विषयलाई समितिले स्वाभाविक रूपमा लिएको उनले बताए ।

त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले समितिको प्रक्रियाका बारेमा नै प्रश्न उठाएको धारणा राखे । संविधान अनुसार नै समिति गठन भएको र सदस्यहरू रहेको आफूहरूको भनाई रहेको उनले जानकारी दिए ।

समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *