धनकुटामा मेरो प्रतिस्पर्धी छैनन्, स्थानीय तहमा जनताले झुक्किएर गठबन्धनलाई मत दिए : राजेन्द्र राई (अन्तर्वार्ता)

'धनकुटे जनताले राजेन्द्र राई खोजेका छन्'

काठमाडाैँ । नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राई यसपटक पनि धनकुटाबाटै बाजी मार्ने दाउमा छन् । २०७४ सालमा पनि त्यहीँबाटै निर्वाचित बनेका राई आसन्न सङ्घीय निर्वाचनमा पनि साेही क्षेत्रबाटै जित्ने र जनताकाे प्रतिनिधित्व गर्ने दाबी गर्छन् । उनकाे चुनावी ‘लडाइँ’ नेपाली कांग्रेसका सुनीलबहादुर थापासँग हुने निश्चितजस्तै छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटामा एमालेले ‘क्लीन स्वीप’ नै गरेकाे थियाे । त्यसबेला विजयको खुसी बाँड्न पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँ धनकुटा पुगेर राईलाई ‘म्यान अफ द इलेक्सन’ को उपाधिसमेत दिएका थिए । तर, यसपटक भने अवस्था अल्लि फरक छ । यसपटककाे निर्वाचनमा पाँचदलीय गठबन्धन भर्सेस एमाले बन्ने निश्चितप्राय: छ । यसाे हुँदा राजेन्द्रकाे सम्भावना फितलाेजस्ताे देखिएकाे छ ।

०७४ सालकाे विजयकाे विरासत यसपटक एमालेले जाेगाउन सकेकाे छैन । त्यसकाे पुष्टि गत वैशाख ३० को स्थानीय तह सदस्य निर्वाचनले गर्छ । त्यहाँ एमालेले ३ वटा स्थानीय तहमा मात्र जित हासिल गर्दा कांग्रेसले ४ वटा स्थानीय तहमा जित निकालेकाे छ । २०४६ सालको जनआन्दोलनको सफलतालगत्तै अनेरास्ववियु धनकुटाको अध्यक्षसमेत बनेका उनी २०५४ सालमा जिल्ला विकास समितिको उपसभापतिसमेत बने । ०६६ सालमा एमाले धनकुटाको अध्यक्षमा निर्वाचित भएका राईले तत्कालीन धनकुटाका राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापालाई हराउँदै प्रतिनिधि सभामा विजयी बनेका थिए ।

यसपटक पनि उनी यही विगत दाेहाेर्‍याउन चाहन्छन् । तर, कति सहज ? के साँच्चै नै उनी निर्वाचित हाेलान् ? यसबारे मकालुखबरले उनै राजेन्द्रसँग कुराकानी गरेकाे छ ।  प्रस्तुत छ कुराकानीकाे सम्पादित अंश ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मिति तोकिसकेको अवस्था छ, तपाईंकाे तयारी के छ नि ?

सबै पार्टीहरू चुनावको तयारीमा छन् । तीमध्ये धनकुटाको सबैभन्दा शक्तिशालि पार्टी जनताको आशा र भरोसाको केन्द्र नेकपा एमाले नै हाे । यसाे हुँदा हामीलाई निर्वाचनमा सहज छ । यही हिसाबले मैले पनि तयारी गरिरहेको छु । म यहीँबाटै तयारी गरिरहेकाे छु ।

तपाईं फेरि त्यहीँबाटै उठ्नुहुन्छ ? कि अन्यलाई ‘चान्स्’ दिनुहुन्छ ?

यसै भन्ने त छैन, तर मलाई र जनतालाई के लाग्छ भने धनकुटाको सन्दर्भमा अरु साथीहरूकाे पनि इच्छा-चाहना त होला । तर, आमजनता र कार्यकर्ताले मलाई नै चुन्नुहुने छ । किनकी धनकुटामा मेरो छाप र कामगराइ जनताले मन पराउनुभएकाे छ ।

तर, तपाईंले त धनकुटाको विकास, सुशासन, शिक्षा, स्वास्थ्यसँगै सबै क्षेत्रमा काम गर्न सकेन भन्ने गुनासाहरू पनि आएका छन् नि ?

यो मेरो कामप्रति सन्तुष्ट छन् जनताहरू । मैले धनकुटाको चौबिसे गाउँपालिकामा वडा नं. ६ बुधबारेमा छात्राबास निर्माण गरेको छु । कोरोनाको महामारीले गर्दा केही काममा बाधा पर्‍याे । तर, व्यवसायिक शिक्षामा जोड दिएको छु । जसका लागि डाडाँबजार, गोकुण्डेश्वर, बालमन्दिर, त्रिवेणीलगायतका स्थानमा शिक्षा क्षेत्रमा व्यापक काम भएको छ, गरेकाे छु । म एक यस्तो नेता हुँ, जसले धनकुटाको समग्र विकासका लागि अगाडि बढेर जनताको काम गरेको छ । तर विपक्षीले मेरो काम मन नपराएको पनि हुनसक्छ र उनीहरूले त्यसरी प्रचार गरेकाे पाएकाे छु ।

तपाईंले सबै क्षेत्रमा काम गरेकाे छु भनेर भन्नुभयाे, तर लामाे इतिहास बाेकेकाे धनकुटा अस्पतालकाे अवस्था कहिल्यै सुधार भएन नि ? जहाँ तपाईंकै जनाहरू गुनासाे गर्छन् ।

कोरोनाको महामारीले गर्दा जनधनको विशालरूपमा क्षति भयाे । त्योबेला पनि मैले पीसीआर मेसिन तथा स्वास्थ्य उपकरण जडान गरेकाे थिएँ । कति शैय्याकाे राख्ने भन्ने कुरा मेरो अधिकारको विषय हाेइन र थिएन । यो प्रदेशको अधिकार हाे । र, पनि मैले यहाँको जनप्रतिनिधि भएको नाताले मैले यो गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति मैले काम अगाडि बढाएकाे छु । त्याे अस्पतालको सुधार गर्नेमै म लागेकाे छु । अहिले हामी यसको सुधार गर्नका लागि पहल गरिरहेका छाैँ । मेरो अधिकार के थियो भने सातवटै तहमा आधारभूत अस्पताल बनाउने थियाे । चैबिसे, पाख्रिबास, छथर जोरपाटी बनिरहेको छ । महालक्ष्मी पनि बन्दै छ । शहीदभूति तथा सागुरीगढीमा पनि बनिरहेकाे छ । हरेक वडामा आधारभूत स्वास्थ्यचाैकी बनिरहेकाे छ । मैले सबै क्षेत्रकाे कामहरू मिलाएर गरेँ, अब पुन: गर्नेछु ।

जिल्लाको विकासमा तपाईंले गर्नुभएकाे कामलाई कसरी सम्झनुहुन्छ ?

पहिलो कुरा त मैले जिल्लाको गरिबीलाई शून्य प्रतिशतमा झार्न उत्पादनसँग जनतालाई जोड्ने काम गरेँ । यहाँ पहिले गरिबी १८ प्रतिशत थियो । पाँचवर्षको कार्यकालमा १८ बाट ५ प्रतिशतमा गरिबी झारेँ । प्रतिव्यक्ति आय ४ सय थियो, अहिले ६ सय पुगेको छ । खानेपानी र सडक निर्माण गरेँ । विद्यालय राम्रो बनाउने काम गरेका छाैँ । जनताकाे आधारभूत आवश्यकता पूरा गर्नेका लागि मैले सबै खालका कदम चालेको छु । याे जनताले देखिरहेका छन् । मैले धेरै काम गरेको छु । मजतिको जनप्रतिनिधि धनकुटामा छ भन्ने कुरा जनताले कल्पना गर्नै सक्दैनन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटामा एमालेले सबै नगर तथा पालिकामा सफलता हासिल गरेकाे थियाे, तर ०७९ को निर्वाचनमा त्याे कायम रहेन, यसबीचमा धेरै काम गरेँ भन्नुभयाे तर त्याे संख्या कायम भने भएन किन ?

यो विषयमा हामी आत्माकेन्द्रित भयाैँ । हाम्रो तयारी पुगेन, त्याेकारण त्याे संख्या कायम राख्न सकेनाैँ । जनताले हामीलाई भोट हाल्न चाहेका थिए । तर, गठबन्धनले दह्राे ढङ्गले गुण्डागर्दी गरे । त्याेकारण जनताहरू डराएर गठबन्धनलाई भाेट लगाए र काेहीले झुक्किएर पनि हाले ।

गठबन्धनका कारण तपाईंलाई प्रशस्तै चुनाैतीहरू छ नि हाेइन र ?

गठबन्धनमा एउटाको बाटो पूर्व र अर्काको बाटो पश्चिम छ । पुग्ने गन्तव्य नै अलग भएपछि गठबन्धन धनकुटामा हुने सम्भावना छैन । यो त बजारमा गरिएकाे हल्ला हो । गठबन्धनको कारण अझ मेरो भोट बजारमा बढेको छ । जनताले मलाई युवा तथा जनताको प्यारो छोराको रूपमा लिने गरेका छन् । मेरो विकल्पमा धनकुटामा कोही छैन भन्ने पनि छ ।

तर, स्थानीय तहको निर्वाचनमा त एमालेमा जनलहर देखिए न नि ?

भोटकाे हिसाबले हामी अगाडि छाैँ । हेर्नलाई चाहिँ हामी चार/पाँच हजार भोटले अगाडि छाैँ । र, मेरो विजय पनि निश्चित छ ।

धनकुटामा पाँच पटकसम्म प्रधानमन्त्री बनेका सुर्यबहादुर थापाको क्षेत्र पनि हो । राजनीतिकरूपमा धनकुटाकाे राम्रै विरासत छ । त्यसमा पनि अहिले  गठबन्धनकाे नेतृत्व गरेकाे कांग्रेसकाे ठूलाे विरासत छ नि, सूर्यबहादुरका छाेरा सूनिलबहादुर त्यहीँबाट उम्मेदवार बन्ने कुरा छ, तपाईं याे विरासतलाई ताेड्न कति सफल हुनुहाेला त ?

उहाँ (सुनिलबहादुर थापा) लाई उठाउँछ भन्ने कुराहरू आएका छन् । उहाँले मैले बाजी मार्छु भनेर भनिरहनुभएकाे छ । यसको आधार त तपाईंसँग पनि छैन । पहिलाे कुरा जनताको छोरा म । दोस्रो कुरा मैले जनतालाई शिरमा राखेर काम गरेको छु । विकास निर्माणमा परिवर्तन भएको छ । लोकतन्त्रको लागि जेल पनि भोगेको मान्छे म । मलाई सूर्यबहादुरको नाम लिन मन लाग्दैन । ५ चोटी प्रधानमन्त्री भएको उनको क्षेत्र धनकुटाको अवस्था यही मात्र हो त ? उनले चाहेको भए यसलाई पहिलै विकास गर्ने सक्ने थिए । हामी आँखामा आँखा जुधाएर कुरा गर्ने तयार छाैँ । जनताले मलाई काम गर्छ/गर्दैन भन्ने देखेका छन् ।

त्यसकारण अब मसँग प्रतिस्पर्धा गर्ने सक्षम मान्छे छैनन् । मेरो प्रतिस्पर्धा आफैसँग मात्र हो । म जनताको साथमा छु । जनताको आर्थिक सम्वृद्धिकाे निम्ति निरन्तर पहल गर्नेछ । अब मेरो योजना जनताको घरमा भएको फल एभाेकाडाे प्रशाेधन केन्द्र गाउँ-गाउँमा बनाउने हाे । यसका साथै हरेक स्थानीय तहमा गोदाम हल निर्माण गर्नेछाैँ । मेडिकल कलेज तथा क्याम्पस निर्माण गर्ने योजना छ ।

मेरो प्रतिस्पर्धी नै छैन भन्नुभयो, तपाईंले पाँचदलीय गठबन्धनलाई कमजोर ठान्नुभएको हो ?

जनताले अस्ति झुक्किएर भाेट नहालेका हुन्, उनीहरू झुक्किएर गठबन्धनलाई भाेट दिए । अब जनताले सूर्यमा भोट हाल्छन् । हामी सक्रिय नभएका कारण गठबन्धनमा भोट गयो । यो पटक म जनतालाई भन्छु— सोचेजति विकास गर्ने सकिएन होला, कोरोना महामारी र प्रतिनिधि सभा विघटनमा कारण काम गर्ने बाटो बनेन । यो मानेमा म आमजनतासँग माफी माग्न चाहान्छु । म हार्ने कुरा कल्पाना गर्दिनँ । पहिला १२ हजारले जितेको यो पटक १५ हजारले जित्ने छु ।

तपाईंकै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बखत रवि-भेडेटार सडक शिल्यान्यास भएको थियो, सडक निर्माण म्याद सकिँदासम्म पनि बनेकाे छैन । यसकाे दाेष कसले लिने ? तपाईंले कति लिने ?

पहिलो कुरा यो १०१ किलोमिटर रवि-राँके ६ नं. बुधबारे राजा-रानी तथा भेडेटार बाटो एक्जिम बैंक अफ इन्डियाबाट गरेर बनेको बाटो हो । देशव्यापीरूपमा यस्ता आयोजना पाँचवटा छन् । यो बाटो जुन गतिले जानुपर्ने छ, त्यो भएको छैन यसलाई स्वीकार्नुपर्छ । भौतिक पूर्वधारमन्त्री वसन्तकुमार नेम्वाङलाई सो बेला यो बाटोको टेन्डर क्यान्सिल गर्नुपर्छ भनेर मैले नै भनेको थिएँ । त्यो सम्भव भएन, पछि मन्त्री चेन्ज भए । भर्खरै मैले मेरो नेतृत्वमा गएर मन्त्रीलाई भेटेर छलफल गरेको छु । कि कामले गति लिनुपर्छ कि टेन्डर क्यान्सिल हुनुपर्छ भनेको छु । जटिल समस्या छ । तर अब काम शुरू हुने छ । यदि भएन भने हामी टेन्डर तोडेर भएपनि अगाडि बढ्नेछाैँ ।

अन्त्यमा यो बाटोले कहिले पूर्णता पाउला त ?

हामी बेजोडका साथ लागेका छाैँ । अबको एक वर्षभित्रमा यो बाटोले पूर्णता पाउनेछ । लेखेर राख्नुभए हुन्छ ।

प्रतिक्रिया

One thought on “धनकुटामा मेरो प्रतिस्पर्धी छैनन्, स्थानीय तहमा जनताले झुक्किएर गठबन्धनलाई मत दिए : राजेन्द्र राई (अन्तर्वार्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *