नागरिकता विधेयक विधायन समितिबाट पनि हुबहु पारित, एमालेकाे फरक ‘धारणा’

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल पछि नागरिकता विधेयक पारित भएकाे छ ।
बुधबार बसेको समिति बैठकबाट विधेयक हुबहु पारित भएकाे हाे । विधेयकमा नेकपा एमालेले लिखित अहसमति राखेको छ । समितिमा सत्तारूढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भएकाे हाे ।
समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रियसभामा पेश गर्नेछ । राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ ।
समितिमा रहेका एमाले सांसदहरूले भने फरक मत दर्ज गरेका छन् । सांसदहरू देवेन्द्र दाहाल, भैरवसुन्दर श्रेष्ठ र भगवती न्यौपानेले भने फरक मत राखेका हुन् । एमालेले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिँदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने बताएकाे छ ।
विवाहपछि भने राजनीतिक र प्रशासनिकबाहेकका अधिकार उपभोग गर्न परिचयपत्र दिने र त्यो परिचयपत्र नागरिकता प्राप्तिको आधार हुने पनि एमाले सांसदहरूको फरक मतमा उल्लेख छ । एक एमालेकाे तर्फबाट समितिमा प्रतिनिधित्व गरेका सदस्यले भनेका छन्, ‘हामीले पेलेरै अगाडि बढियाे । याे सह्य हाेइन । अंगीकृतबारेकाे व्यवस्थामा हामी सहमत छैनाैँ ।’








