पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे निर्वाचित क्षेत्रमा उम्मेदवार बन्न खोजेका यी राज्यमन्त्री !

चितवन । चितवन क्षेत्र नम्बर १ मा तीन नगरपालिका पर्छन् । रत्ननगर, खैरहनी र राप्ती नगरपालिका मिलेर चितवन क्षेत्र नं १ बनेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आकांक्षीको सुचीमा नाम दर्ता गराइसकेका छन् । चितवन क्षेत्र नं २ निवासी भए पनि श्रेष्ठले चितवन क्षेत्र नं १ को सुचीमा आफ्नो नाम दर्ता गरेका छन् ।

२०१२ सालमा भोजपुरमा जन्मिएका राज्यमन्त्री श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । यद्यपि उनको हाइड्रोदेखि स्वास्थ्य क्षेत्रमा ठूलो लगानी छ । सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो बझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका उनको लगानी छ ।

प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता रहेका श्रेष्ठ चितवनमा होटेल सिराइचुली, होटेल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । पोखरामा उनको नयाँ होटेल परियोजना सुरु भएको छ ।

कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।

४२ वर्षअघि भोजपुरबाट काठमाडौँ आएका उनी व्यवसायमा हात हालेसँगै छोटो समयमा अर्बपति हुन सफल भए । झम्सीखेल ललितपुरमा बस्दै आएका श्रेष्ठको चितवन क्षेत्र नं २ निवासी पनि हुन् ।

कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका श्रेष्ठ यसपटक चितवन क्षेत्र १ बाट लड्नको लागि नाम दर्ता गराइसकेका छन् ।

चितवनका विभिन्न कार्यक्रममा उनले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा आधा सम्पत्ति खर्च गर्ने बताइरहेका छन् । ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी उनले गरिरहेका छन् ।

यस्ता घगडान व्यवसायी श्रेष्ठ चुनावी मैदानमा आउन खोजेका छन् । चितवन क्षेत्र नं १ तीन नगरपालिका पर्छन् । रत्ननगर, खैरहनी र राप्ती नगरपालिका मिलेर बनेको क्षेत्र नं १ मा २०७४ को चुनावमा तत्कालीन नेकपाबाट सुरेन्द्र पाण्डे निर्वाचित भएका थिए ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेता पाण्डेले तत्कालीन समयमा नेपाली कांग्रेसका प्रतिद्वन्द्वी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका थिए ।

पाण्डेले ५० हजार ८ सय ९६ मत ल्याउँदा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि पाण्डेसँग बुर्लाकोटी पराजित बनेका थिए । २०७४ मा पाण्डे र बुर्लाकोटीको फेरि चुनावी भेट हुँदा पाण्डे निर्वाचित भए ।

चितवन १ बाट दुई पटक निर्वाचित भइसकेका पाण्डे यतिबेला आफ्नो क्षेत्रका मतदातामाझ विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । उनले चितवन १ बाट आफ्नो उम्मेदवारी फेरि रहने सङ्केत गरिसकेका छन् । केही दिनअघि पत्रकारमाझ नेता पाण्डेले पुरानो आफ्नै क्षेत्र चितवन १ बाट उठ्ने बताएका थिए ।

चितवन १ मा पूर्वअर्थमन्त्री पाण्डे र राज्यमन्त्री श्रेष्ठबिच भिडन्त हुने सम्भावना बलियो बन्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *