यायाेक्खा अध्यक्ष राई भन्छन्- ‘पृथ्वीनारायण शाह सबैका हुन् भने यलम्बर पनि सबैकै हुन्’

काठमाडाैँ । किरात राई यायाेक्खा (किराया) का केन्द्रीय अध्यक्ष दिवस राईले संस्कृति एवम् सभ्यता कुनै जातिविशेषकाे नहुने दाेहाेर्‍याएका छन् ।  मंगलबार किराया मुख्यालय, काेटेश्वरमा ११औं राष्ट्रिय महाधिवेशन मूल आयाेजक समितिले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवाल-जवाफ गर्दै अध्यक्ष राईले यस्ताे बताएका हुन् । यायाेक्खाले प्रदेश नं. १ किरात प्रदेश नामाकरण हुनुपर्ने माग गर्दै आएकाे छ, यसैबारे गरिएकाे प्रश्नमा अध्यक्ष राईले भनेका छन्, ‘किरात कुनै जाति वा जात हाेइन, याे एउटा सिङ्गाे सभ्यता हाे । यसलाई किरातहरूले मात्रै हाेइन, गैरकिरातहरूले पनि सहर्षरूपमा स्वीकार्नुपर्छ ।’

अध्यक्ष राईले पृथ्वीनारायण शाह सबैका हुँदा यलम्बर पनि सबैकै हुने दृष्टान्त सुनाए । ‘हामीले पृथ्वीनारायण शाहलाई सबैकाे भनेर भन्दै आएकाे छाैँ । त्यसाे त यलम्बर पनि सबैका हुन् नि ! पृथ्वीनारायण मात्रै सबैका राजा हुन् तर, यलम्बरचाहिँ हाेइनन् भन्ने कुरा गरेर हुन्छ त ?,’ अध्यक्ष राईले प्रतिप्रश्न गरे । उनले थपे, ‘झनै यलम्बर त पृथ्वीनारायणभन्दा कति-कति अगाडि नेपालमा शासन गरेका राजा हुन् । त्यसैले याे वा त्याे भनेर हाेइन, एकआपसकाे अस्तित्व स्वीकार्य हुनुपर्दछ ।’

यस्तै उनले प्रदेश नं. १ किरात प्रदेश हुनुपर्ने अभियान कहिल्यै नथाक्ने जिकिर गरे । ‘याे अभियान किरात प्रदेश नभइन्जेलसम्म रहन्छ । यायाेक्खा जसकाे नेतृत्वमा रहेपनि याे अभियान र आन्दाेलन सेलाउँदैन,’ अध्यक्ष राईले भनेका छन्, ‘किरात प्रदेश जबसम्म हुँदैन, तबसम्म याे आन्दाेलन थाक्दैन ।’

अध्यक्ष राईले किरात प्रदेश नं. १ काे नाम किरात भएमा सबैका लागि स्वीकार्यताकाे विषय हुनेसमेत स्मरण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *