यायाेक्खाकाे ११औं महाधिवेशन असाेज ८-१० हुने, प्राज्ञिक बहसकाे थालनी गरिने संयाेजक राईकाे दाबी

किरात प्रदेश अभियानलाई पनि निरन्तरता दिइने

काठमाडाैँ । किरात समुदायकाे सर्वाेच्च सामाजिक संस्था किरात राई यायाेक्खा (किराया), केन्द्रीय कार्यसमितिकाे ११औं राष्ट्रिय महाधिवेशन आउँदाे असाेज ८, ९ र १० गते सङ्घीय राजधानी काठमाडाैँमा हुने भएकाे छ । ‘किरात सभ्यता, इतिहास, भूगाेल र संस्कृतिकाे सम्मान हाम्राे सङ्कल्प, १ नं. प्रदेश किरात प्रदेश नामाकरण नै प्रदेशवासीकाे अन्तिम विकल्प’ भन्ने मूल नाराका साथमा सम्पन्न हुन गइरहेकाे महाधिवेशनकाे उद्घाटन सत्र राष्ट्रिय सभागृहमा हुनेछ भने बन्द सत्र भक्तपुरकाे बाेडेस्थित कृषि विकास बैंककाे सभाहलमा हुने किराया ११औं राष्ट्रिय महाधिवेशन मूल आयाेजक समितिले जनाएकाे छ ।

||पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै किराया अध्यक्षसमेत रहेका महाधिवेशन मूल आयाेजक समिति संयाेजक दिवस राई। तस्बिर : मकालुखबर||

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने महाधिवेशनमा ५०० भन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकहरूकाे सहभागिता रहने मंगलबार किराया मुख्यालय काेटेश्वरमा आयाेजित पत्रकार सम्मेलनमा किराया अध्यक्षसमेत रहेका महाधिवेशन मूल आयाेजक समितिका संयाेजक दिवस राईले जानकारी दिए । ‘प्रतिनिधि/पर्यवेक्षक मात्रै हाेइन,’ संयाेजक राईले भनेका छन्, ‘त्यसबाहेक हाम्राे समुदायका अन्य शुभेच्छुकहरूकाे समेत सहभागिता रहनेछ ।  कार्यक्रम भव्य हुनेछ, विभिन्न साङ्गीतिक प्रस्तुति तथा झाँक्री नाचसमेत हुनेछ ।’

कार्यक्रममा आर्थिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुनुका साथै प्राज्ञिक बहससमेत हुने संयाेजक राईकाे दाबी छ । ‘किरात प्रदेश नामाकरण अभियान, किरात सिरिजङ्गा लिपि, इतिहास, भाषा, धर्म, संस्कृतिलगायतका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ,’ उनले भने, ‘यसका साथै महाधिवेशनमा प्राज्ञिक एवम् बाैद्धिक बहससमेत हुनेछ । यसकाे थालनी हामी गर्नेछाैँ । किरात राई यायाेक्खा भनेकाे विगतदेखि सामुदायिक, सामाजिक एवम् सांस्कृतिकरूपमा मजबुत हुँदै आएकाे छ । यायाेक्खाले यसलाई पनि निरन्तरता दिन्छ ।’

||११औं राष्ट्रिय महाधिवेशनकाे ब्यानर सार्वजनिक गर्दै यायाेक्खा अध्यक्षसमेत रहेका महाधिवेशन मूल आयाेजक समिति संयाेजक दिवस राईका साथमा उपाध्यक्ष जीवन हाताचाे राई (दायाँ) र महासचिव जनक राई (बायाँ)। तस्बिर : मकालुखबर||

मूल आयाेजक समितिले महाधिवेशनकाे ‘ब्यानर’समेत सार्वजनिक गरेकाे छ । सार्वजनिक गरिएकाे ब्यानरकाे बीचमा किरात प्रदेशकाे नक्सा राखिएकाे छ भने त्यसैमाथि यायाेक्खाकाे झण्डा राखिएकाे छ । त्यसभन्दा माथि महाधिवेशनकाे नारा ‘किरात सभ्यता, इतिहास, भूगाेल र संस्कृतिकाे सम्मान हाम्राे सङ्कल्प, १ नं. प्रदेश किरात प्रदेश नामाकरण नै प्रदेशवासीकाे अन्तिम विकल्प’ लेखिएकाे छ ।

मूल आयाेजक समितिले सहभागी एवम् शुभेच्छुकहरूलाई महाधिवेशलाई पूर्ण सफल बनाउन आह्वानसमेत गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *