विराटनगरका फुर्सदिला जनप्रतिनिधि, पसल उद्घाटनदेखि विद्यार्थीको स्वागत गर्दै

विराटनगर । जनप्रतिनिधि सस्तो लोकप्रियताकै लागि हरेक दिनजसो रिबन काट्ने, उद्घाटन गर्ने, खादा माला लगाउँदै हिँडेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ । यही चर्को आलोचनाबाट विराटनगरका जनप्रतिनिधि बच्न सकेनन् ।

काठमाडौँ महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले खादा लगाउन इन्कार गर्दै आएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि कुनैपनि कार्यक्रममा हत्तपत्त जाँदैनन् । उनी आफ्नो पालिकाको कामलाई प्राथमिकतामा राख्छन् । कसैले औपचारिक कार्यक्रममा नबोलाउन आग्रह गर्दै आएका छन् ।

पसल उद्घाटन र विद्यार्थी स्वागतमा

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्की हरेक कार्यक्रममा पुग्छन् । जसले बोलाए पनि औपचारिक कार्यक्रममा गएर नै बढी समय बिताउने गरेको आरोप लाग्दै आएको छ।

यसअघिका मेयर भीम पराजुली सधैँ बाहिरै हुने तर कार्यालयको काममा समय नदिने गरेको आरोपलाई अहिलेका जनप्रतिनिधिले पनि निरन्तरता दिँदै आएका छन् । महानगरमा बसेर जनताको सेवामा तल्लीन हुनुपर्ने प्रमुख उप–प्रमुख दैनिक औपचारिक कार्यक्रमको आतिथ्ययतामा नै व्यस्त हुने गरेको गुनासो सर्वत्र बढ्न थालेको छ ।

कुन–कार्यक्रममा जाने रु कुन कार्यक्रममा नजाने भन्ने आफ्नै आचारसंहिता बनाउन नसक्दा धेरै कार्यक्रमका सहभागीहरूबाट उनीहरूको आलोचना हुँदै आएको छ। मेयर कोइराला र उपमेयर कार्कीकै कारण कतिपय औपचारिक कार्यक्रम समयभन्दा घण्टौँ ढिलो सुरु गर्न आयोजक बाध्य हुने गरेको गुनासो आयोजकहरूबाट नै आउने गरेको छ ।

कार्यक्रम घण्टौँ ढिला

केही दिन अघि विराटनगरको तोदी भवनमा आयोजित एक कार्यक्रम मेयर कोइरालाकै कारण तोकिएको समयभन्दा करिब तीन घण्टा सुरु भएको थियो । विराटनगरको ट्राफिक चोकको एउटा ब्युटी पार्लरको उद्घाटन गर्ने कार्यक्रम उपमेयरका कारण झण्डै अढाई घण्टा ढिला सुरु भयो ।

यी त उदाहरणमा मात्रै हुन् । प्रत्येक दिन मेयर र उपमेयरले यस्ता औपचारिक तथा अनौपचारिक धेरै कार्यक्रममा समय दिँदा राम्रा कार्यक्रमहरू पनि ओझेलमा पर्ने गरेका छन् । कार्यक्रममा सहभागी हुन पुगेका उपस्थित अरूलाई पनि पर्खाइले दिक्क बनाएका छन् ।

अझ मेयर-उपमेयर पार्लर उद्घाटन देखि एउटा विद्यालयको स्वागत कार्यक्रममा समेत सहभागी भइदिँदा जनताले अपेक्षा गरे अनुसारको काम देखेका छैनन् ।

मंगलबार मात्रै मेयर कोइराला विराटनगरको ईस्ट्रन कलेज अफ इन्जिनियरिङले नव आगन्तुक विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रमको प्रमुख अतिथि बन्न पुगे । उनले विद्यार्थी सहितका सहभागीलाई दक्ष जनशक्ति उत्पादनमा जोड दिए ।

बुद्धिजीवी परिषद् मोरङका सदस्य तथा हिसान मोरङका अध्यक्ष अमित ढकाललाई पनि मेयर र उपमेयरको समय वर्गीकरण चित बुझेको छैन । उनले मेयर उपमेयरले औपचारिक कार्यक्रमको वर्गीकरण गर्न सक्नुपर्ने बताए ।

जहाँ पनि आउँछु भनेर समयमा नपुग्दा आयोजकलाई निराश मात्र बनाउँदै पालिकाका सेवाग्राहीलाई समेत सास्ती हुने उनको बुझाई छ ।

समाजशास्त्री डा. चन्द्र उपाध्यायले विराटनगरका जनप्रतिनिधिहरूले कामको लय समाउन नसकेको बताए । काम गर्दै गरेको भन्ने सामाजिक सञ्जालहरूबाट देखिए पनि नागरिकले अनुभूत गर्ने खालको काम नदेखिएको उनको भनाई छ।

‘विराटनगरवासीको नाताले कामको अनुभव गर्न पाइएको छैन’, उनले भने, ‘समाचारमा पनि हेर्न पाइएको छैन।’ भेटघाटहरू गर्दै गरेको, दैनिक यति कार्यक्रममा सहभागी हुनु भयो भन्ने सामाजिक सञ्चालकको पेजमा देखिए पनि अनुभूतिको कुरामा तत्काल दिन सक्ने उत्तर केही पनि नभएको उपाध्यायको भनाई छ ।

‘उहाँहरूको अप्ठेरो के हो भन्ने पनि आएको छैन’, उनले भने, ‘श्वेत पत्र जारी भयो रे भन्ने कुरा सुन्नमा आएको छ, त्यहाँ भित्रका आन्तरिक कुरा मिलाउन समय पो लागेको हो की ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *