कोहलपुरको डोजर अभियानमा बसपार्क सुधार समितिको अवरोध, मेयर भन्छन्- हटाएरै छोड्छौँ

कोहलपुर । कोहलपुर नगर विकास समितिको सार्वजनिक जग्गाबाट अवैधानिक संरचना तथा निर्माण हटाउने अभियानमा अवरोध सिर्जना भएको छ ।

स्थानीय बसपार्क सुधार समितिले कोहलपुर नगरपालिकाको अवैधानिक संरचना हटाउने अभियानमा अवरोध सिर्जना गरेको हो ।

नगर विकास समितिले आइतबार न्युरोडमा रहेका अवैध घर टहरा हटाएको थियो । सोमवार बसपार्कमा रहेका अवैध संरचना हटाउने पूर्व योजनाअनुसार नगरपालिकाको टिम बसपार्क पुगेको थियो । नगरपालिकाको टिम पुगेसँगै बसपार्कमा व्यवसाय गरी बसेका व्यवसायीहरूले ढुंगामुढा गरी अवरोध सिर्जना गरेको थियो ।

विकल्पबिना नै संरचना हटाउन लागिएको भन्दै व्यवसायीहरूले अवरोध गरेका हुन् । घटनास्थलमा झडपको स्थिति देखिएपछि ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको थियो । उनीहरूले नगर विकास समितिले आफ्नै सम्झौता लत्त्याएको आरोप लगाउँदै उनीहरूले नगरपालिकाको डोजर भित्रै पस्न दिएनन् ।

भारी मात्रामा ढुंगा तथा मुढा प्रहार हुन थालेपछि नगरको टिम फर्किएको थियो ।

प्रकरण के हो ?

कोहलपुर बजार बसपार्क सुधार समिति र कोहलपुर नगर विकास समितिका बिचमा भएको सहमतिका आधारमा बसपार्कमा केही व्यवसायीहरूले ७२ वटा घर टहरा बनाइ व्यवसाय गर्दै आएका थिए ।

उनीहरूले ती टहराबापत मासिक रूपमा न्यूनतम भाडा नगरपालिकालाई बुझाउँदै आएका थिए । कालान्तरमा नगरपालिकालाई त्यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि उक्त जग्गा आवश्यक पर्‍यो । नगरले पटकपटक खाली गर्न भने पनि व्यवसायीहरूले अटेर गरिरहे ।

पछि विवाद बढ्दै गएपछि ३ वर्षअघि यो विषय अदालत पुगेको थियो । अदालतले उक्त रिट खारेज गरी नगर विकास समितिको पक्षमा फैसला गरेको थियो । अदालतको आदेशपछि नगर विकास समितिले टहरा भत्काउने तयारी गर्दागर्दै कोभिड महामारी सुरु भएपछि टहरा भत्काउने काम तत्कालका लागि टरेको थियो ।

कोभिड कालमा टहरा नभत्किने भएपछि नगर विकास र बसपार्क सुधार समितिबिच थप नयाँ सम्झौता भयो । नयाँ सम्झौताअनुसार नगर विकासलाई आवश्यक परेको बेला सूचना दिएको ३५ दिन भित्र खाली गर्ने बसपार्क सुधार समिति तयार भयो । सँगै समितिले पुनः टहरा सञ्चालनमा ल्यायो ।

नगरपालिकामा नयाँ सरकार आएसँगै असार मसान्तमा नगर विकासले जग्गा खाली गर्न ३५ दिने सूचना टाँसेको थियो । बसपार्क सुधार समितिले उक्त सूचनाको अवज्ञा गरेपछि नगरपालिकाले थप ३ दिने अल्टिमेटम समेत दियो । अल्टिमेटमको समेत अवज्ञा गरेपछि सोमवार नगर विकासको डोजरसहितको टोली अवैध संरचना हटाउन त्यहाँ पुगेको हो ।

यस सम्बन्धमा मेयर पूर्णप्रसाद आचार्यसँग बुझ्दा उनले टहरामा व्यवसाय गर्ने व्यवसायीहरू टहरा छाड्न तयार रहेको भएपनि बसपार्क सुधार समिति टहरा छाड्न तयार नभएको बताए ।

आइतवार न्युरोडका अवैध संरचना भत्काएका मेयर आचार्य बसपार्कबाट काम फत्ते नगरी फर्किएपछि कोहलपुरमा दण्डहीनता र मनोमानीले प्रशय पाउने त हैन भन्ने स्थानीयको चिन्ता र  चासो देखिएको छ । मेयर भने बसपार्कको अवैध संरचना हटाउन आफू दृढ रहेको बताउँछन् । उनले भने, ‘असार मसान्तमा नवीकरण सकिएसँगै ती सबै निर्माण अवैध भएकाले नगर विकासले जसरी पनि जग्गा खाली गराउँछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =