झापा क्षेत्र नं. ५ मा ओलीसँग चुनाव लड्न कांग्रेसका ३ नेताकाे दाबी, कति सहज ?

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न सत्तारुढ दल नेपाली कांग्रेसका तीनजना नेताहरूले दाबी गरेका छन् । ओलीकाे निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ हाे । त्यहाँबाट कांग्रेसका तीनजना नेताहरूले चुनाव लड्ने दाबी गरेका छन् । ओलीसँग चुनाव लड्नका लागि पछिल्लाे प्रतिनिधि सभा निर्वाचनमा उनीसँगै पराजित नेता खगेन्द्र अधिकारी, नेविसंघका पूर्वउपाध्यक्ष मेदनी सिटौला र नेता विश्वदीप लिङ्देनले दाबी गरेका छन् ।
प्राध्यापकसमेत रहेका अधिकारी २०७४ सालकाे निर्वाचनमा ओलीसँगै चुनाव लडेका थिए । तर, उनी पराजि भए । ओली ५७ हजार १ सय ३९ मतका साथ निर्वाचित हुँदा अधिकारीले २८ हजार २ सय ५७ मत मात्रै जाेडे । यसपटक पनि उनले ओलीसँगै चुनाव लड्न खाेजेका छन् । ‘म निर्वाचित नै हुने हाे । राजनीतिक नियुक्ति लिनका लागि मैले जागिर छाेडेकाे हाेइन,’ अधिकारीले भनेका छन् । उनी ०७४ सालमा प्राध्यापनबाट उम्मेदवार बनेका थिए ।
सिटौलाले पनि गठबन्धनकाे तर्फबाट टिकट आफूले पाउनुपर्ने बताएका छन् । उनले त्यहाँबाट आफू उठ्नेगरी सक्रियतासमेत बढाएका छन् । लामाे समययता कांग्रेसकाे राजनीतिमा रहेका उनले यसपटक ओलीलाई हराएर आफूले त्यस क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने बताएका छन् । ‘मेराे दाबी छ,’ उनले भनेका छन्, ‘म पार्टी नेताहरूकाे सद्भाव लिएर त्यहाँ लड्न जान्छु र जित्छु ।’
सबै नेताहरूकाे साथ पाउनेमा उनी ढुक्क छन्, भन्छन्— ‘मलाई नेता/साथीहरूले पनि साथ दिनुहुन्छ ।’
लिङ्देन पनि ओलीसँगै लड्ने सुरसारमा छन् । उनी २०७४ सालमा माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । २०६४ सालमा लिङ्देनले माओवादीबाट ओलीलाई यसै क्षेत्रमा हराएका थिए । यसपटक उनले कांग्रेसबाट ओलीलाई हराउने बताएका छन् । ‘यसपटक उहाँ (ओली)सँगै चुनाव लडेर जित्ने साेचेकाे छु,’ उनले भनेका छन्, ‘अबकाे परिस्थिति कस्ताे बन्छ हेराैँ ।’
ओली हराउन कति सहज ?
पछिल्लाे स्थानीय तह सदस्य निर्वाचनअनुसार भने यस निर्वाचन क्षेत्रमा एमाले नै दह्रो देखिन्छ । यो निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ र गौरिगञ्ज गाउँपालिकाका ४ गरी २९ वटा वडा समावेश छन् । दमकका १० वडामध्ये ७ वडामा एमालेले जित निकालेको छ । यहाँ कांग्रेस, माओवादी केन्द्र र राप्रपाले चुनावी गठबन्धन गरेका थिए, जसबाट कांग्रेसले दुई र राप्रपाले १ वडा जितेका छन् । दमक ओलीको गृहनगर पनि हो । त्यसकारण पनि यहाँ एमाले दह्रो देखिन्छ ।

यस्तै यही निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा कांग्रेसले जित निकालेको छ । जहाँ एमालेले ४ वडामा जित निकाल्दा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वडा जितेका छन् । उता गौरादह नगरपालिकाका ८ वडामध्ये ४ मा एमाले जितेको छ भने कांग्रेस, माओवादी केन्द्रले क्रमशः २ र १ सँगै १ स्वतन्त्रले जित निकलोको छ । गौरीगञ्ज गाउँपालिकाका ४ वडामध्येमा पनि ३ मा एमाले जितेको छ भने १ मा कांग्रेसले बाजी मारेको छ ।
यसरी हेर्दा तुलनात्मकरूपमा ओलीकै पक्षमा परिणाम देखिन्छ । २९ वडाहरूमध्ये १८ वटा वडा एमालेकै पक्षमा देखिन्छ भने सत्तारुढ गठबन्धनको पक्षमा १० वडा मात्रै देखिन्छ । जहाँ गौरादहमा एउटा वडा स्वतन्त्रले जितेको छ । यसरी हेर्दा ओलीलाई गठबन्धनले पनि हराउन नसक्ने देखिन्छ । त्यसो त आसन्न निर्वाचनमा पनि गठबन्धन भर्सेस एमाले हुने पक्कपक्कीजस्तै भएको छ । त्यसमा झापा क्षेत्र नं. ५ मा एमाले दह्रो देखिन्छ ।









Oli ko takkar ma kehi pani aauno sakdaeno.yo dhrub sattyaho