टिप्पणी

चाडपर्व याम : सरकारकाे मात्रै भर नपराैँ, आफैँ जिम्मेवार बनाैँ !

काठमाडाैँ । नेपालमा चाडपर्वकाे याम शुरू भएकाे छ । साउन लागेसँगै धमाधम चाडपर्वहरू एकपछि अर्काे आउँछन् । अरु बेलाभन्दा चाडपर्वमा बढीभन्दा बढी अपराधिक गतिविधिहरू घट्ने गरेका छन् । यसलाई दृष्टिगत गर्नुपर्ने हामी सबैकाे दायित्व हाे । सबैभन्दा धेरै दायित्व सरकारकाे हाे, आफ्ना नागरिकलाई सुरक्षाकाे अनुभूति गराउनु सरकारकाे कर्तव्य हाे । तर, सरकार यसमा चुकिरहेकाे छ ।

चावपर्वमा अरुबेलाकाे भन्दा अत्यन्तै धेरै किनमेल गर्नुपर्ने हुन्छ । साथै, चाडपर्व मनाउनका लागि आफन्तको घर जाने क्रम पुरानो हो, यसलाई निरन्तरता दिनैपर्छ । तर, यसरी घरबाहिर निस्किँदा चोरीको घटना घट्ने सम्भावना निम्तिन्छ । घरमा कोही नभएको मौका छोपेर चोरी हुन सक्छ । चाडपर्वको याम शुरू भएसँगै चोरीका घटना पनि ह्वात्तै बढ्ने गरेका छन् । आफू घरबाहिर हुँदा मेरो घर सुरक्षित छ भनेर हिँड्न सक्ने अवस्था छैन । रातको समयमा ढुक्क भएर सुत्न सकिँदैन ।

सरकारले जनतालाई सुरक्षाको अनुभूति गराउन सकेको छैन । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो ठाँउबाट पहल नगर्दा जनता अझै पनि असुरक्षित छन् । उनीहरूको घर असुरक्षित छ । सबैभन्दा धेरै चोरीको घटना दशैंमा घट्छ । तर, दशैं लाग्न नपाउँदै चोरी भएको भनेर सुन्नमा आइरहेका छन् । अहिले नै यस्तो छ भने दशैंमा के होला ? दशैंमा त झन् प्राय:जसोको घर नै रित्तो हुन्छ । कोठामा चाबी लगाएर हिँड्ने प्रवृत्ति छ । यता, बजारमा चोर पनि छ्याप्छ्याप्ती हुन्छन् । चोरहरू अहिलेदेखि नै सल्बलाउन थालिसकेका छन् । किनमेल गर्ने क्रममा केही पत्तो नै नपाइकन पाकेटमारले पाकेट खाली पारिसकेको हुन्छ ।

सार्वजनिक यातायात, टिकट काउण्टर, व्यापारिक मललगायत भीडभाड हुने स्थानमा चोरको बिगबिगी हुन्छ । त्यसैले आफ्नो सामान जोगाउन जनता पनि सतर्क रहनुपर्छ । चोरी हुनबाट रोक्नका लागि आफू पनि जिम्मेवार बन्नुपर्छ । पहिले आफ्नो थैलीको मुख बलियो बनाउनुपर्‍याे कि चोरले चोर्न नसकोस् । घरबाट कतै बाहिर निस्किनुपरेमा राम्रोसँग झयाल ढोका बन्द गर्ने । छिमेकीलाई खबर गर्नेलगायतका काम गरेमा पनि चोरीका घटनाहरूमा धेरै कमी आउन सक्छ । मठमन्दिर, बजारलगायत अन्य स्थानमा जाँदा टन्न गरगहना लगाएर प्रचार गर्ने काम पनि बन्द गर्नुपर्छ ।

गरगहना चोरी मात्र होइन्, आफ्नो ज्यानसमेत खतरामा पर्न सक्छ । देखाउनका लागि आफूमाथि खतरा आउने काम कसैले पनि नगरौं । जनता पनि सरकारको मात्र सुरक्षामा भर पर्नुहुन्न । सरकारको भर पर्दा केही पनि बाँकी रहँदैन । आफू अलिकति जिम्मेवार बनिदिने हो भने चोरीका घटना न्यूनीकरण हुन सक्छ । जनताले कसरी निस्फ्रिक्री चाडपर्व मनाउन सक्छन् भनेर विषयमा गृह मन्त्रालयले अहिलेसम्म छलफलमा बोलाएका छैनन् । सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीहरूलाई बैठकमा बोलाएर छलफल गर्न गृहमन्त्री खाँणलाई कुने चासो छैन ।

चाडपर्वमा रमाइलोका लागि मदिरा सेवन गर्ने पनि बढ्छन् । समाज र टोलटोलमा झैँझगडाका घटनाले पनि निकै ठाँउ पाउँछ । दिनभर जुवातास खेलेर पैसा उडाउने पनि चाडपर्वमा उत्तिकै हुन्छ । घरभित्रै दंगा शुरू हुन्छ । एउटाले गर्दा पूरै समाजमा खैलाबैला हुन्छ । कुटाकुट गर्दा कतिपयको ज्यानसमेत जान सक्छ । त्यसैले गृह मन्त्रालयले बेलैमा ध्यान पुर्‍याउनुपर्छ । घटना घट्नुअघि नै सचेत हुनु राम्रो । अब बजारमा कालोबजारीले गर्नेहरू पनि ह्वात्तै बढछन् । एक सय रुपैयाँ पर्ने सामान तीन सय रुपैयाँ हालेर किन्नुपर्ने बाध्यता जाइलाग्छ ।

टिकट काउण्टरहरूमा पनि बिचौलिया सल्बलाउँछन् । टिकटमा पनि कालोबजारी हुन्छ । दोब्बर मूल्यमा टिकट किन्नुपर्ने बाध्यता आइपर्छ । बजारमा अनुगमन बढाऊ भनेर गृह मन्त्रालयले हरेक जिल्लाका सिडि‌ओलाई अहिलेसम्म पनि निर्देशन दिएको छैन । यता, सुरक्षाको दायरा बढाउनका लागि सुरक्षाकर्मीहरूलाई पनि खटाइएको छैन । मँहगीको कारणले जनताको चुलो बाल्न नसक्ने अवस्था बनिसकेको छ । यातायात व्यवसायीले पनि दोब्बर भाडा लिएर जनता ठगिरहेका छन् । सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि दिनहुँ उकालो लागिरहेको छ ।

तापनि, सरकारलाई अलिकति पनि मतलब छैन । प्रदेश सरकार त नाम मात्रको सरकार भइहाल्यो । सिडि‌ओ र प्रदेश सरकार नै व्यापारीसँग मिलेको देखिन्छ । बजार अनुगमन गर्नलाई न गृहमन्त्री खाँण तात्छन्, न सिडि‌ओ । उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु हात बाँधेर बसेका छन् । विगतको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै सवारी साधन दुर्घटनामा दशैंमा पर्छ । अरु बेलाभन्दा दशैंमा धेरै दुर्घटना हुनु पछाडि धेरै कारण छ । न चेकिङ कडा छ, न बाटोघाटो राम्रो । सिटभन्दा बढी यात्रु हाल्नु यातायात व्यवसायीको त विगतदेखि चलिआएको चलन नै भइहाल्यो ।

सरकारको कमीकमजोरीका कारणले वर्षेनी थुप्रो जनताको ज्यान जान्छ । ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी पनि आफ्नो ठाँउबाट जिम्मेवार बनिदिनुपर्‍याे । उनले सम्पूर्ण ट्राफिकलाई चेकिङ बढाउनका लागि निर्देशन दिनुपर्छ । सार्वजनिक यातायातमा अझै कडाइका साथ अनुगमन हुनुपर्छ । दशैं लागेसँगै घर जानेको संख्या बढेको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले गाडीको छत निकाल्नुपर्छ भनेर निर्णय गरेको छैन । यता, यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतको पनि यतातिर ध्यान गएको छैन ।

दशैंको मौका छोपेर यातायात व्यवसायीले छतभरि सामान हाल्छन् । बाटोमा प्रहरी नभएपछि उनीहरू छतमै समेत यात्रु बोकेर हिँड्छन् । चाडपर्व लागिसकेपनि कसरी अघि बढ्ने ? भनेर अनुगमन गर्नका लागि कुनै पनि निकायले योजना तयार पारेको छैन । सरकारले पनि जनतालाई सचेत बनाउनुपर्छ । सरकारले विभिन्न माध्यमबाट जनचेतनाका कार्यक्रम ल्याउन सक्छ । तर, गृहमन्त्री खाँणसँग यति गर्ने पनि क्षमता छैन । अरु देशमा सवारी साधन दुर्घटना परेर कसैको ज्यान गयो भने सरकार जिम्मेवार बन्छ । त्यहाँको सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

तर, नेपालमा ठ्याक्कै त्यसको उल्टो छ । यहाँ वर्षेनी दुर्घटनामा परेका हजाराैँले ज्यान गुमाउँदा पनि सरकार जिम्मेवार बन्दैन । न सम्बन्धित व्यक्तिले आफ्नो गल्ती स्वीकार्दै राजीनामा दिन्छन् । दशैं आउन अब एक महिना पनि बाँकी छैन । बजारमा किनमेल गर्नेको चहलपहल छ । घर जानेको भीड पनि बढेको छ । बैंकबाट पैसा निकाल्नेको संख्या पनि बढेको देख्न सकिन्छ । तर, कुनै पनि क्षेत्रमा व्यवस्थित सुरक्षा संयन्त्र खडा गरिएको छैन । गृहमन्त्री खाँणले यति पनि गर्न नसक्ने हो भने तत्कालै राजीनामा दिनुपर्‍याे । नत्र भए सुरक्षाकर्मी र सिडि‌ओलाई बोलाएर बजारमा निगरानी राख्न निर्देशन दिनुपर्‍याे ।

सुरक्षाकर्मीले पनि जनताले तिरेको करबाट तलबभत्ता खाने तर काम केही नगर्ने । दिन कटाउने माना पचाउने काम भइरहेको छ । बजारमा के भइरहेको छ ? के चलिरहेको छ ? मँहगीले जनतालाई कति मारमा पारेको छ ? कालोबजारी भइरहेको त छैन ? भनेर अनुगमन गर्नुपर्‍याे । जनतालाई सुरक्षा दिने र राष्ट्रलाई सेवा दिने भनेर सुरक्षाकर्मीहरूले जागिर खाएका हुन् । तर, जनतालाई उनीहरूले के सुरक्षा दिए त ? जनताले मुलुकमा सुरक्षाकर्मी छन् भनेर अनुभव गर्न सकेका छैनन् । देशको सीमाना भारत मिचेको मिच्यै गर्छ तर पनि सुरक्षाकर्मी मौन ।

सुरक्षाकर्मीको मुख्य काम भनेको नेताहरूको चाकडी गर्नु मात्र हो । एउटा नेताको पछाडि एक दर्जन सुरक्षाकर्मी खटिएका हुन्छन् । तर, जनताको सुरक्षा गर्न कोही पनि छैनन् । दशैंमा ट्राफिक जाम एकदमै धेरै हुन्छ । अहिले नै ट्राफिक जाम जनताका लागि टाउको दुःखको विषय बनेको छ । झन् दशैंमा त यसले उग्ररूप लिन्छ । अझै पनि सरकारले गर्छ भनेर सोच्नु नै गलत हो । अहिलेको सरकार असफल भयो भनेर पुष्टि भइसकेको छ । यो सरकारले जनताका लागि केही काम गर्न सक्दैन । आफू पनि राम्रो काम नगर्ने र अरुलाई पनि गर्न नदिने काम भइरहेको छ ।

एकअर्काको खुट्टा तान्नु नेपालमा वर्षाैँदेखि चलिआएको प्रवृत्ति हो । काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र शाहले बेसमेण्ट पार्किङ हटाउन थालेपछि नेपाली कांग्रेसका नेताहरूलाई भत्‌भती पोलेको छ । कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले उनको प्रगति देख्न सकेनन् । बालेनको खुङ्खार विरोध गरिरहेका छन् । तर, बालेनले नराम्रो कामचाहि के गर्‍याे ? काठमाडाैँका जनतालाई ठिक लागेको छ भने अरुलाई केको चासो । एमाले र कांग्रेसले राम्रो काम गरेको भए स्वतन्त्र आउँदैनथ्यो ।
राम्रो काम गर्नेलाई प्रोत्साहनको साटो निरुत्साहन गरेपछि कसरी मुलुकको रूप फेरिएला ? अब बालेन जसरी काम गर्नुपर्‍याे , होइन भने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाँणले राजीनामा दिनुपर्‍याे । महेश बस्नेत र मीनबहादुर विश्वकर्माको विरोधमा जनता सडकमा आउनुपर्‍याे ।

अत: राजकीय सत्तामा रहेका नेता/नेतृत्वहरू अरुकाे विराेध गर्दै र आफ्नाे राजनीतिक दुनाे साेझ्याउँदैमा फुर्सद छैनन् । त्यसैले याे चाडपर्वकाे अब सबैखाले असुरक्षाहरू आइपर्छन् । सरकार जनताकाे सुरक्षामा जुटेकाे देखिँदैन, त्यस्ताे तयारी पनि देखिँदैन । त्यसैले अब जनता आफैँ सचेत बन्नुपर्‍याे । नत्र यसकाे भागीदार जनता स्वयम् बन्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =