बेसमेन्ट आफैं खाली गर्दै व्यवसायी

काठमाडौँ  । काठमाडौं महानगरपालिकाले व्यापारिक भवनका जमिन तला, बेसमेन्ट, सेमी–बेसमेन्ट, भुइँतलामा निर्माण गरिएका अनधिकृत संरचना र पसल–व्यवसाय हटाउन थालेपछि व्यवसायीहरू आफैंले ती स्थान खाली गराउन थालेका छन् ।

३ सयभन्दा बढी व्यापारिक भवनमा पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा मापदण्डविपरीत पसल र अन्य संरचना निर्माण गरिएको पाइएपछि महानगरले गत साउन २ मा ३५ दिने सूचना जारी गर्दै त्यस्तो क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशन पालना नगरिएपछि महानगरले गत सोमबारदेखि अनुगमन र अनधिकृत संरचना हटाउने अभियान नै थालेको थियो ।

सुरुमा दसैंको मुखमा पसल छोड्नुपर्दा ठूलो आर्थिक व्ययभार खेप्नुपर्ने भन्दै विरोध गरेका व्यवसायीहरूले अहिले भने क्रमशः महानगरको निर्देशनअनुसार बेसमेन्ट खाली गर्न तयार भएका हुन् ।

सुन्धारा, न्युरोड, नयाँ बानेश्वर, कोटेश्वरलगायत क्षेत्रस्थित व्यापारिक भवनका बेसमेन्ट, अन्डरग्राउन्डमा पसल सञ्चालन गरिरहेका व्यापारीहरू सामान सारेर अहिले वैकल्पिक स्थान खोजिरहेका छन् । ‘कोरोना महामारीले थलिएर बल्ल उठ्न लागेको व्यवसायीको बिचल्ली भएको छ । ठूला व्यापारीलाई घाटा छैन, साना व्यापारी घर न घाटको भयौं,’ न्युरोड कोजी कम्प्लेक्सको अन्डरग्राउन्डमा कपडा पसल सञ्चालन गर्दै आएकी एक व्यापारीले भनिन्, ‘वैकल्पिक ठाउँ पनि भेटेको छैन, सामानको भद्रगोल भएको छ ।’

महानगर प्रमुख बालेन्द्र शाहको कदम सही भए पनि समय गलत भएको व्यापारीहरूको भनाइ छ । ‘पसल हटाउन केही समय मौका दिनुपर्थ्यो । कम्प्लेक्सले भाडाको लोभमा साना व्यापारीलाई थमथमायो तर महानगरले छोडेन,’ ती व्यापारीले भनिन्, ‘कम्प्लेक्स सञ्चालकले महानगरको सूचनालाई बेवास्ता गर्दै भाडा लिएपछि पसल हटाएनौं ।’

महानगरले सहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग) बाट सवारीसाधन पार्किङको प्रयोजन खुलाई नक्सा स्वीकृति लिइएको छ भने जमिन तला, बेसमेन्ट आदिमा व्यापारिक गतिविधि सञ्चालन नगर्न अपिल गरिरहेको छ । त्यस्तो गरिएको भेटिए अनधिकृत संरचना हटाउने अभियान निरन्तर जारी रहने पनि उसले स्पष्ट पारिसकेको छ ।

महानगरको निर्देशनपछि नबिल बैंकले न्युरोडमा बेसमेन्टमा सञ्चालन गरिरहेको शाखा कार्यालय हटाएको छ । अभियानका क्रममा महानगर प्रमुख साहसहितको टोलीले केही दिनअघि मात्रै उक्त क्षेत्र खाली गराउन भनेको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले सोमबार वसन्तपुर प्लाजा, महर्जन कम्प्लेक्स, बिरा कम्प्लेक्स, सुरज आर्केडलगायतमा सञ्चालित अनधिकृत संरचना हटाउन निर्देशन दिएर फिर्ता भएको छ । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =