तीज : जसले जे खाए पनि दर, जे गाए पनि गीत

गण्डकी । हरिदेवी कोइराला नाम नै पर्याप्त छ । ‘पाइन खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ जस्ता कर्णप्रिय गीतले उनकाे गायन व्यक्तित्व चुलिएको हो ।

दुःख सुख, मायाप्रेम र दिदीबहिनी, चेलिबेटीका कथा व्यथालाई गीतमा उनेर प्रस्तुत गरिएका गीतले पनि कोइरालाको छवि उजिल्याएको हो । उनका झण्डै अढाइ सय तीजका गीत छन् भने हजारभन्दा बढी अन्य गीत रहेका छन् ।

त्यस्तै उनका १० वटा साहित्यिक कृति छन् । तीज गीतकै नाममा पछिल्ला समयमा भित्रिँदै गएको विकृतिप्रति चिन्ता व्यक्त गर्ने उनले गीतका माध्यमबाट समाजको कथा व्यथालाई प्रस्तुत गरेकाे त छ नै मौलिकता खोज्न र बुझ्नका लागि पनि उनका गीत सुन्नैपर्छ ।

“छोराछोरी परदेश लागे घरै शून्य पारेर
एक्लै एक्लै बस आमा आँसु झारेर ।
बाबा पनि बूढा भए हिँड्छन् लौरो टेकेर
मुटु काम्छ आमा तिम्रो दुःख देखेर ।।”

उनकाे यस तीज गीतमा नेपाली समाजको यथार्थतालाई जीवन्त चित्रण गरिएको छ । रोजगारीको खोजीमा विदेशतिर भौँतारिएका छोराछोरी, घरमा एक्लै बस्ने बूढाबूढी र तिनको दुःखलाई गीतमा प्रस्तुत गरिएको छ । छोराछोरी हुर्काएर पछि सुख हुने झुटा सपना देख्ने आमाको बूढेसकालको नियतिलाई सङ्केत गर्दै गायिकाले भनेकी छन्,

“सुख हुन्छ भन्थ्यौ आमा छोराछोरी हुर्कार
झुटो सपना देख्यौ आमा बुझ संसार ।
खाई नखाई पाल्यौ तार्यौ दुःख गरी हुर्कायौ
बूढेसकालमा भन आमा तिम्ले के पायौ ।।”

जीवनको भारी झन् झन् गहुँगो बन्दै गएको, गालामा चाउरी पर्दा पनि दुख थपिँदै गएको भन्दै कोइरालाले,

“तिम्रो भारी झन् गर्हुँगो हुँदै गयो अहिले झन्
के गर्छ्यौ त नरौ आमा नदुखाउ भो मन ।
छोरा छोरी भन्दै भन्दै गयो सारा जीन्दगी
आमा तिम्रो मनको रहर पूरा हुन्नकी ।।
कति दुःख गर्छ्यौ आमा चाउरी परे गालामा
झन् झन् दुःख भयो आमा बूढेसकालमा ।।” गीतमा भनेकी छन् ।

यस्तै मर्मस्पर्शी गीत गाएर नेपाली लोकगीतका क्षेत्रमा चासो र चर्चा कमाउनुभएकी कोइरालाले झण्डै एक हजारभन्दा बढी गीत रचना गरिसकेकी छन् । पछिल्ला समयमा हाम्रा परम्परागत मौलिक संस्कृतिलाई विकृत बनाइएकोमा चिन्ता व्यक्त गर्दै कोइरालाले तीजका नाममा पनि थुप्रै विकृति भित्रिएको बताउछिन् ।

विसं २०४३ मा ‘मेरा माइती मुग्लान झरे’ गीतबाट गायन क्षेत्रमा उदाएकी कोइरालाका २०४६ सालपछि भने धेरै गीतहरू बजारमा आएका हुन् । पोखराको पर्यटकीयस्थल लेकसाइडमा जन्मिएकी उनका प्रेरणाका स्रोत आमा, हजुरआमा र तत्कालीन समयमा सारङ्गी लिएर गाउँदै हिड्ने गन्धर्व दाइहरू रहेको बताइन् ।

साहित्य सङ्गीत नै आफ्नो विशेष रुचिको क्षेत्र भएको बताउँदै उनले भनिन्, “प्राचीन मौलिकताले युक्त संस्कृतिको संरक्षणलाई मैले जोड दिँदै आएकी छु, तीजका नाममा जहिले खाए पनि दर र जे जस्तो गाए पनि तीजे गीत पछिल्लो समयमा यो हाम्रो संस्कृतिमा देखिएको विकृति हो ।”

पहिलाको तीज छोटो मिठो हुने गरेको बताउँदै उनले भनिन्, “अहिलेको तीज लामो पनि भयो, समयअनुसार परिवर्तन त हुन्छ तर तीजको मर्म र मौलिकता पहिला जस्तो छैन, हराउँदै गएको छ ।” तीजमा गाएका सबै गीतलाई तीजे गीत मान्न नसकिने बताउँदै उनले रत्यौली, दोहोरी आदिलाई पनि तीज गीत मानिदिँदा पछिल्ला पुस्ताले यस पर्वबारे के बुझ्लान् भनी प्रश्न गरिन् ।

तीज सभ्य पारिवारिक चाड भएको र पछिल्ला समयमा चेलीबेटी, माइती, दाजुभाइ, दिदीबहिनीको सम्बन्धलाई विकृतिमय बनाइएको उल्लेख गर्दै उनले खानपान, लवाइ आदिमा आडम्बर देखिन थालेको दुःखेसो गरिन् । “तीज भनेको त विशुद्ध चेलीहरूको पर्व हो, यसका गीतमा चेलीका मनका भावना, वेदना आदि आउनु आवश्यक छ, तर पछिल्ला समयमा यसलाई विकृत बनाइएको छ, पुरुष हावी बन्दै गएको पाइन्छ”, उनले थपिन् ।

पछिल्ला समयमा तीज बढी माया पिरती लगाउने पर्व जस्तै बनेको र कतिपय गीतहरू परिवारमा बसेर सुन्न पनि अप्ठेरो मान्नुपर्ने अवस्था आएको उनकाे भनाइ छ । सञ्चारमाध्यमले पनि तीजका मौलिक भाकालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै कोइरालाले माइतमा गएर मामा, हजुरबुबा, हजुरआमा, दाजुभाइका बीचमा गाउने र सुन्ने खालका गीतलाई प्रश्रय दिनुपर्नेमा जोड दिइन् ।

तीज पर्वलाई लामो गरिँदा समाजमा पनि त्यसले गा¥हो बनाएको उनकाे भनाइ थियो । उनले यस पर्वलाई छोटो र सबै अटाउने खालको बनाउनका लागि सोच्नुपर्ने अवस्था आएको बताइन् । नेपाली समाजमा सयौं वर्षदेखि गाउँदै आइएका हम्काइलो जस्ता थुप्रै पुराना मौलिक गीत गाउनुभएकी कोइरालाले तीजको खाइने दर र गाइने गीतको मौलिकतालाई पछिल्ला पुस्तामाझ पनि पु¥याउनका लागि आजैबाट गम्भीर बन्नुपर्नेमा जोड दिइन् । कोइरालाको पछिल्लो तीज गीत ‘कदमका रुखमा बसेका कृष्णजी’ तीज गीत हालै बजारमा आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =