प्रचण्ड भन्छन्- प्रतिगमनकारी प्रवृत्ति नसकिएसम्म गठबन्धन टुट्दैन (भिडिओसहित)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अन्तर्घातका कारण बिग्रेकाे बताएका छन् । उपत्यका विशेष प्रदेश समितिकाे वैचारिक-राजनीतिक प्रशिक्षणलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘माओवादी अन्तर्घातका कारण बिग्रियाे । हामी पनि अन्य बुर्जुवा पार्टीजस्तै भइयाे । हामीले गत स्थानीय निर्वाचनमा पनि अन्तर्घातकै कारण ५० भन्दा बढी सिट गुमायाैँ,’ उनले भनेका छन् ।
अन्तर्घात नभएकाे भए माओवादी केन्द्र नेपालकाे वामपन्थीहरूमध्ये सबैभन्दा ठूलाे दल बन्ने दाबीसमेत उनले गरेका छन् । उनले भनेका छन्, ‘जनमतलाई हेर्दाखेरि हामी अझै पनि ठूलै छाैँ । तर, पनि अन्तर्घात नभएकाे भए हामी यसैपटक मुलुककाे दाेस्राे र वामपन्थीमा सबैभन्दा ठूलाे शक्ति बन्थ्याैँ ।’
उनले अन्तर्घात हुनेहरूलाई कारबाही गर्नेसमेत बताए । क्रान्तिकारीहरूले अन्तर्घात गर्नेहरूलाई कारबाही पनि गर्नसक्नुपर्ने बताउँदै उनले भनेका छन्, ‘यदि कारबाही गरिएन भने जे गर्दा पनि हुन्छ भन्ने हुन्छ । क्रान्तिकारीहरूले राम्राेलाई प्राेत्साहन र नराम्राेलाई कारबाहीसमेत गर्न सक्नुपर्छ ।’
उनले माओवादी पनि बुर्जुवाजस्तै बनेकाे बताए ।
उनले प्रतिक्रान्तिकारी प्रवृत्ति नसकिएसम्म वर्तमान गठबन्धनकाे उपादेयता नसकिने जिकिर गरेका छन् । ‘यहाँ काेही-कसै दुविधामा नपरे हुन्छ । हाम्राे गठबन्धन टुट्दैन । प्रतिक्रान्तिकारी, प्रतिगमन प्रवृत्ति नसकिएसम्म हाम्राे गठबन्धन टुट्दैन,’ उनले भनेका छन्, ‘हामी गठबन्धनमै रहन्छाैँ ।’
भिडिओ हेर्नुस्








