महिला सांसदहरूकाे खबरदारी- ‘हामी कठै-विचरा हाेइनाैँ, प्रत्यक्षतर्फ चुनाव लडेर देश चलाउन सक्छाैँ’

काठमाडाैँ । महिला सांसदहरूले आफूहरूलाई कम नआँक्न नेतृत्वहरूलाई खबरदारी गरेका छन् । मंसिर ४ मा हुँदै गरेकाे प्रादेशिक एवम् सङ्घीय निर्वाचनकाे प्रसङ्ग जाेड्दै उनीहरूले आफूहरू प्रत्यक्षतर्फ नै चुनाव लड्ने बताएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद डिला संग्राैलाले राजनीतिक नेतृत्वले महिलाहरूलाई कम आँकिरहेकाे उल्लेख गर्दै भनिन्— ‘महिलालाई बढीभन्दा बढी प्रत्यक्षतर्फ चुनाव लड्न अवसर प्रदान गर्न सम्पूर्ण राजनीतिक दलका नेतालाई आग्रह गर्छु ।’
२१औं शताब्दी महिलाहरकाे शताब्दी भएकाे जिकिर गर्दै उलने थपिन्, ‘महिलाहरू प्रत्यक्ष चुनाव लड्न तत्पर/तयार छन् । घर चलाउन मात्रै हाेइन, उनीहरू देश चलाउन पनि सक्षम छन् । तर, नेतृत्वले उनीहरूलाई कम आँक्नुचाहिँ भएन ।’
यस्तै नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती कुमारी विशुंखेले आसन्न निर्वाचनमा महिलाहरूलाई विशेषरूपमा अवसर दिन राजनीतिक दलका नेतृत्वहरूलाई आग्रह गरिन् । ‘विगतमा भएका चुनावहरूले महिलाहरू उप र समानुपातिक मात्रै हुन् भन्ने सन्देश दिएकाे छ,’ उनले भनेकी छन्, ‘त्यसैले मंसिर ४ गते हुँदै गरेकाे संघ र प्रदेशकाे निर्वाचनलाई समानुपातिक/समावेशी बनाउनका संविधानकाे धारा ३८ काे उपधारा ४ लाई कार्यान्वयन हुनेगरी निर्वाचन आयाेगले बनाइरहेकाे निर्वाचन मस्याैदालाई चाँडाेभन्दा चाँडाे सदनबाट पारित गर्नुपर्याे ।’
साेमबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा भाग लिँदै उनले महिलाका लागि निर्वाचन आरक्षण क्षेत्र ताेक्नसमेत माग गरिन् । ‘कानूनमा महिलाकाे उचित र संवैधानिक व्यवस्थाअनुसार सहभागिता गराउनका साेहीअनुसारकाे व्यवस्था मस्याैदामा राख्नुपर्छ । संविधानकाे मूल मर्मलाई समेट्ने हाे भने याे हुन जरुरी छ । र, मस्याैदा कानूनमा यी कुराहरू समेट्नुपर्छ । जबसम्म यहाँ समेटिँदैन र आरक्षणकाे क्षेत्र राखिँदैन, महिलाहरू कठै र विचरा मात्रै हुन् ।’








