टेक्सासस्थित ‘ग्लोबल नेपाली पाठशाला’मा भर्ना खुल्यो

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा रहेको नेपाली समाज टेक्सासको भाषा पाठशालामा नयाँ विद्यार्थी भर्नाका शुरु भएको छ । नेपाली समाज टेक्सासद्वारा सञ्चालित ‘ग्लोबल नेपाली पाठशाला’मा नेपाली भाषाका विभिन्न कक्षाहरू सञ्चालनका लागि भर्ना खुला गरिएको हो ।
ग्लोबल नेपाली पाठशालाले अगस्त २७ देखि डिसेम्बर ४ सम्म सञ्चालन गर्ने ‘फल सेसन’ अन्तर्गत बालबालिकाहरूलाई नेपाली भाषा, कला, साहित्य, संस्कृति, योग-ध्यान, कम्प्युटर, पारिवारिक आर्थिक समृद्धि एवम् नेतृत्व विकास लगायतका विभिन्न विषयहरूमा कक्षा सञ्चालन हुनेछ ।
यसअघि नै नियुक्त गरिएका नेपाली भाषामा विज्ञ तथा शिक्षण पारङ्गतहरूबाट अध्ययन गरिने यस कक्षाहरू बिदाको दिन पारेर शनिवार र आइतबार सञ्चालन हुने जनाइएको छ । आ-आफ्ना विषय अन्तरगत फरक-फरक समयमा सञ्चालन हुने यस कक्षाहरूमा नेपाली र मोरल साईन्स, पब्लिक स्पिकिगं र लिडरसिप, अतिरिक्त क्रियाकलाप योगा लगायतका कक्षाहरू नेपाली भाषामा अध्ययन अध्यापन हुनेछ ।
नेपाली समाज टेक्ससले सञ्चालन गर्दै आएको र टेक्सासमा निकै लामो इतिहास बनाएको यस पाठशालाले टेक्सास मात्र नभएर अमेरिकाभरि हजारौँ नेपाली बालबालिकाहरूलाई नेपाली भाषा, साहित्य, संस्कृति र संस्कार सिकाउने कक्षाहरू सञ्चालन गर्दै आइरहेको नेपाली समाज टेक्सासका महासचिव सन्देश उप्रेतीले बताएका छन् ।
अत्यन्त न्यून शुल्कमा अध्ययन हुने कक्षाहरू ‘अनलाइन’ र ‘फेस-टु-फेस’ दुवै माध्यमबाट सञ्चालित हुनेछ । प्रवासी नयाँ पुस्ताका बालबालिका लक्षित यस पाठशालाले आफ्नै पाठ्यक्रम ढाँचा र पाठ्यपुस्तक तयार गरेर पठन पाठनलाई निरन्तरता दिँदै आएको छ ।
नेपाली भाषा, कला, संस्कृति लगायतका नेपाली अस्तित्व र पहिचान बोकेका विषयलाई नयाँ पुस्तासम्म विस्तार गरेर मातृभूमि नेपाल र नेपाली बिच सेतुको भूमिकामा रहने लक्ष्यका साथ यस पाठशालाले प्रभावकारी कार्यक्रम सहितका कक्षाहरू सञ्चालन गर्दै आएको छ । हाल करिब २०० बढी विद्यार्थीले अध्ययन गरिरहेको नेपाली पाठशाला टेक्सासका कार्यवाहक प्रिन्सिपल पशुपति तिम्सिनाले जानकारी दिएका छन्।
नेपाली अक्षर सिकाइदेखि वृद्ध हजुरबा हजुरआमाका जीवनसम्मका वास्तविकतालाई महत्त्वमा राखेरअघि बढेको भाषा पाठशालाले अमेरिकाका सबै राज्य सहित नेपालीहरू रहेका अन्य देशका बालबालिकाहरूलाई पनि भर्ना लिँदै आएको छ ।








