नागरिकता विधेयक : प्रक्रियामा सहमति

काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रपतिले फिर्ता पठाएको विषयलाई राजनीतिक रूपमा लिएर नागरिकता विधेयकमा एक खालको अडान लिएका दलहरुबीच अगाडि बढाउने प्रक्रियामा सहमति जुटेपछि विधायन व्यवस्थापन समितिमा पठाइएको हो ।

सहमतिअनुसार विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पुगेको विधेयकमाथि सोमबारबाटै छलफल अगाडि बढाउने समझदारी छ । विधायन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रका अनुसार नागरिकता विधेयकमा पुनर्विचार गर्न आज मध्यान्न १२ बजेका लागि बैठक बोलाइएको छ । उनी भन्छन्, ‘समितिमा रहेका १५ जना सदस्यहरू राखेर व्यापक छलफल गराएर नागरिकता विधेयकमा पारित गर्ने सोचेको छु ।’

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइएको भए पनि फेरि पनि फास्ट ट्रयाकमै विधेयकका पारित गर्ने सरकार र सत्तारुढ गठबन्धनमा रहेका दलहरूको तयारी छ । सोही अनुसार अगाडि बढ्ने बताउँछन् ज्येष्ठ सदस्य मिश्र । राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १६ गतेका लागि बोलाइएको छ । १६ गतेकै बैठकमा विधायन व्यवस्थापन समितिको नागरिकता विधेयकको प्रतिवेदन पेश गर्ने र सोही दिन विधेयक पारित गर्ने गरी अगाडि बढिने गठबन्धनका नेताहरू बताउँछन् ।

भदौ २ गते प्रतिनिधिसभाले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको सन्देशउपर छलफल गरेर, विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभामा आएको १० दिनपछि यो विधेयक अगाडि बढेको छ । अब धेरै ढिलो गर्ने सोच नरहेको गठबन्धनका नेताहरू बताउँदछन् । ‘नागरिकता विधेयक पास गर्नमा ढिला भइसक्यो । समय छैन त्यसकारण १६ गते नै विधेयक पारित गर्ने गरी अगाडि बढ्छौँ’ मिश्रले भने ।

विधायन समितिमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत रहेको छ । काँग्रेसबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट ४ जना, एमालेबाट ३ जना, नेकपा एकीकृत समाजवादीबाट २ जना र जनता समाजवादी पार्टी (जसपा)बाट प्रमीला कुमारी सदस्य छन् । एक जना स्वतन्त्र र एक जना मनोनीत सांसद छन् ।

काँग्रेसबाट सदस्य (ज्येष्ठ सदस्य मिश्रसहित जितेन्द्र नारायण देव र प्रकाश पन्थ) छन् । नेकपा माओवादी केन्द्रबाट गंगा कुमारी वेल्वासे, तारामान स्वार, सुरेश कुमार आलेमगर र राधेश्याम पासवान छन् । एमालेबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ छन् । राष्ट्रपतिबाट मनोनीत सांसद विमला राई पौडयाल एमाले निकट मानिन्छन् ।

नेकपा एकीकृत समाजवादीबाट २ जना डा. बेदुराम भुसाल र उदय बहादुर बोहरा छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि नेकपा एकीकृत समाजवादी निकट नेता हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट प्रमीला कुमारी सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =