राष्ट्रपतिको काम हिजो पनि ठिक, आज पनि ठिक : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले केही बुद्धिजीवी भनिएकाहरूले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नागरिकता विधेयकका बारेमा विभिन्न व्यक्तिहरूसँगको गरेको छलफलका बारेमा टिप्पणी गर्नेहरूलाई उनले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् ।
उनले राष्ट्रपति भण्डारीको बचाउ गर्दै छलफल तथा भेटघाट गर्ने कार्य ठिक भएको दाबी गरेका छन् । ‘राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौँ अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनी टिप्पणी गर्छन् । दोहोरो चरित्र ! राष्ट्रपतिको यो काम हिजो पनि ठिक थियो र आज पनि ठिक छ,’ उनले सामाजिक सञ्चालनमार्फत भनेका छन् ।
राष्ट्रपती रामबरण यादबले आयोजना गर्नु भएका दर्जनौ अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका बरिस्ठ ब्यक्तिहरु त्यहि काम वर्तमान राष्ट्रपती बिद्यादेबी भण्डारीले गर्दा राष्ट्रपतीको अनाबश्यक सक्रियता भनि टिप्पणी गर्छन ।दोहोरो चरित्र ! राष्ट्रपतीको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) August 28, 2022
राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, उक्त विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भई राष्ट्रिय सभामा पुगेको छ । आफूले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएपछि उनले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग संवाद अघि बढाएकी छन् ।








