बेलायतमा नेपाली नर्सको तलब मासिक ४ लाख

काठमाडाैँ । बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने भएका छन् । त्यहाँको कानुनअनुसार लाइसेन्स लिएपछि नेपाली नर्सले वार्षिक ४८ लाख रुपैयाँ (२७ हजारदेखि ३२ हजार पाउन्ड) सम्म तलब पाउने नेपाल र बेलायत सरकारबीच सम्झौता भएको छ ।

श्रम मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’ मा दर्ता भएपछि मात्रै यो तलबसुविधा पाइनेछ । ‘यहाँबाट सहायक स्वास्थ्यकर्मीका रूपमा छनोट हुन्छ । बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाला नर्स भइन्छ,’ मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालले भने । नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्स भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

प्रतिस्पर्धा गर्न आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याउनुपर्छ । छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा (ओएससीई) उत्तीर्ण गर्नुपर्छ । यसका लागि तीन पटकसम्म परीक्षाको मौका दिइनेछ । तीनै पटक उत्तीर्ण हुन नसके भिसा रद्द हुने भुसालले बताए ।

त्यसरी दर्तावाला नर्सले सीप र क्षमताका आधारमा ५ वर्ष वा त्योभन्दा बढी अवधि काम गर्न पाउनेछन् । सम्झौताअनुसार आईएलटीएस र ओईटी, भिसा र टिकटमा लाग्ने खर्च बेलायत सरकारले शोधभर्ना गर्नेछ । सहायक प्रवक्ता भुसालका अनुसार भर्नाको सबै प्रक्रिया अनलाइन माध्यमबाट हुनेछ । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *