अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित बनाउँनुपर्छ : प्रधानमन्त्री (भिडिओ)

लुम्बिनी। प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताएका छन् । उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनः निर्माण गरी व्यवस्थित सहरको रूपमा रूपान्तरण गर्न जरुरी रहेको बताए ।
बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने उनको भनाइ छ ।
मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले सहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे । उनले प्रदेश र स्थानीय तहले योजनाबद्ध सहरी विकासमा जोड दिनुपर्ने समेत बताए । ‘जनतालाई आफ्नै थातथलोमा आधुनिक सहरी विकासको सेवा पु-याउन सके अनियन्त्रित बसाइसराइ रोकिन्छ’ उनले भने ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले बुटवल नेपालको मध्य भागमा रहेको र संसारको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले यस क्षेत्रको विकासले समग्र देशकै विकासको आधारशिला तयार गर्ने विश्वास व्यक्त गरे । उनले यहाँका नागरिक र जनप्रतिनिधिको साझा प्रतिबद्धता रुपन्देहीको विकासको प्रतिफलले देशकै आर्थिक विकासमा टेवा पु-याउने पनि बताए ।
गृहमन्त्री खाणले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि आर्थिक केन्द्रको रूपमा सञ्चालन गर्न गतिशील र चलायमान बनाउन नसकिएको बताए ।








